Shittalpati
रेसुङ्गामा नगरस्तरीय बाल अधिकार समिति गठन

गुल्मी, गुल्मी जिल्लामा नगरस्तरीय बाल अधिकार समिति गठन गरिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिकामा एक कार्यक्रमको आयोजना गरेर नगरस्तरीय बाल अधिकार समिति गठन गरिएको हो । विपद्मा बाल संरक्षण गर्ने उद्देश्यले समिति गठन गरिएको छ ।

रेसुङ्गा नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजना र सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तु र युनिसेफ नेपालको प्राविधिक सहयोगमा समिति गठन गरिएको थियो । नेपाल सरकार बालबालिका सम्बन्धित ऐन २०७५ को धारा ६० को उपधारा १ र २ बमोजिम नगरस्तरीय बाल अधिकार समिति गठन गरिएको छ । समितिमा नगरपालिकाको उपप्रमुखको अध्यक्षतामा ३३ सदस्यीय समिति गठन गरिएको छ । समितिको सदस्यमा प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख, स्वास्थ्य शाखा प्रमुख, योजना प्रशासन शाखा प्रमुख, शिक्षक प्रतिनिधि २ जना, बाल क्लव, बाल सञ्जालबाट २ जना, उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्श, गुल्मी उद्योग संघका प्रतिनिधि, गैरसरकारी संस्था महासंघ प्रतिनिधि सदस्यमा रहनेछन् । त्यस्तै यातायात व्यवसायी समितिका प्रतिनिधि, मनोविमर्शकर्ता, पत्रकार महासंघ, सामाजिक विकास समिति प्रमुख, नेपाल प्रहरीको प्रतिनिधि, पुनःस्थापना केन्द्र प्रतिनिधि, नगरपालिका सम्पूर्ण वडा अध्यक्षहरु, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा सदस्य सचिव रहने गरी समिति गठन गरिएको छ ।

नगर बाल अधिकार समिति गठन गर्दा आवश्यक सम्बन्धित प्रतिनिधि संस्थालाई पत्राचार गरी व्यक्ति तोक्ने र समितिलाई पूर्णता दिने निर्णय भएको छ । त्यस्तै नगर बाल अधिकार समितिको पूर्णता बैठक आगामी महिनाको अन्तिम सातामा र माघको अन्तिम साता बस्ने निर्णय गरिएको छ । समिति गठन कार्यक्रममा सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुका कार्यक्रम प्रमुख प्रकाश घिमिरे र बाल संरक्षण अधिकृत अजय चौधरीले बाल अधिकार सम्बन्धी प्रस्तुति राखेका थिए । विपद् पछि बालबालिका धेरै जोखिममा पर्ने गरेको उल्लेख गरे । त्यस्ता बालबालिकाको उद्दारको निम्ति यस समितिले काम गर्ने बताए । कार्यक्रममा रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले बालबालिकाको हल अधिकारको निम्ति यस समितिले काम गर्ने बताए । समितिलाई छिट्टै पूर्णता दिएर काम गर्ने नगरप्रमुख भुसालले बताए । नगरस्तरीय बाल अधिकार समिति गठन कार्यक्रमको सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुका गुल्मी प्रमुख साहित्य पोखरेलले सहजीकरण गरेका थिए ।

–पत्रकार अनिल खत्रीबाट

प्रकाशित मिति: बिहीबार, पुस ८, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update