
पाल्पा, तानसेनको विशालबजारमा रहेको आदर्श मगर सेवा समिति गुठीले दृष्टिविहीन विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । सेवा समिति गुठीले शनिबार एक कार्यक्रमको आयोजना गरी दमकडा नमुना माविका २४ जना दृष्टिविहीन विद्यार्थीहरुलाई न्यानो कपडा वितरणका साथै भोजनदान पनि गरेको हो ।
कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेशकुमार आर्यलले २०५२ सालमा स्थानीयले एक–एक छाक दिएर सञ्चालन गरेको विद्यालयको दृष्टिविहीन शाखाबाट अहिले सम्म एक सय २० बढी विद्यार्थीहरुले उच्च शिक्षा प्राप्त गरी विभिन्न निकायमा स्थापित भइसकेको बताए । विद्यालयका प्रधानाध्यापक मोहन सापकोटाले वरिपरी तथा छरछिमेकका दृष्टिविहीन बालबालिकाहरु अलपत्र परेको भए खबर गर्न आग्रह गर्दे उनीहरुलाई आफूहरुले विद्यालयमै राखेर निःशुल्क पठनपाठनको व्यवस्था गर्ने जानकारी दिए । २५ वर्षदेखि निरन्तर सञ्चालन भइरहेको दृष्टिविहीन शाखालाई विभिन्न व्यक्ति तथा संघ–संस्थाहरुबाट विभिन्न सहयोग आइरहेको भन्दै विद्यालयका प्रअ सापकोटाले दृष्टिविहीन बालबालिकाहरुले पढ्न पाउने अधिकारबाट बञ्चित हुन नदिन सबैले सकारात्मक सहयोग गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै आदर्श मगर सेवा समितिका सल्लाहकार होमबहादुर थापा र समितिका सदस्य बृहस्पति रानाले सामाजिक सेवाभावले स्थापना भएको समितिबाट हरेक वर्ष विभिन्न क्षेत्रमा यसरी नै सहयोग गरिरहेको जानकारी दिदै दृष्टिविहीन बालबालिकाको संरक्षण र पढाईलेखाईको वातावरण सिर्जना गरेकोमा विद्यालय परिवारलाई धन्यबाद दिए । कार्यक्रममा पत्रकार देब पचभैयाले फरक क्षमता भएका विद्यार्थीहरुलाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिदै उनीहरुले स्थान र अवसर पाए अरुले झै धेरै उपलब्धी गरी समाजमा उदाहरणीय काम गर्न सक्ने बताए । विद्यालयका शिक्षक कृष्ण पराजुलीले परिवार र छरछिमेकीको साथ र सहयोगबाट हौसला प्राप्त हुने भन्दै फरक क्षमता भएकाहरुले समाजमा राम्रो काम गर्न सक्छन् भन्ने उदाहरण विद्यार्थीले देखाइदिएको बताए । विद्यार्थीहरुले गीत तथा कविता बाचन गर्दे सहयोगीहरुलाई धन्यवाद तथा आभार व्यक्त गरेका थिए भने शिक्षक धनपति गैरेले कार्यक्रम सञ्चालन गरेका थिए ।