
इमान सिं राना
पाल्पा (रामपुर), पूर्वी पाल्पाको पहिलो माध्यमिक विद्यालय रामतुलसी माध्यमिक विद्यालय रामपुर पाल्पाको व्यवस्थापन समितिको अध्यक्षमा विष्णु प्रसाद पौडेल चयन भएका छन् । विद्यालयमा बसेको सरोकारवालाहरुको बैठकले पौडेलको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो ।
पौडेल यस अघि निवर्तमान शिक्षक अभिभावक संघका अध्यक्ष समेत रहेका थिए । समितिको सदस्यहरुमा रमा देवी अर्याल भण्डारी, दुर्गा देवी राना, लक्ष्मण सुनाम, अशोक श्रेष्ठ, देउ मायाँ राना रहेका छन् । त्यस्तै वडा प्रतिनिधिको तर्फ बाट रामपुर ५ का वडा अध्यक्ष हिमाल मल्ल, सदस्य सचिव बालकृष्ण लम्साल रहेका छन् । त्यस्तै शिक्षक प्रतिनिधि तथा अन्य बाँकी मनोनित सदस्यहरु र शिक्षक अभिभावक संघ भने चयन गर्न बाँकी रहेको छ ।
रामपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष हिमाल मल्लको अध्यक्षतामा बसेको बैठक रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको हो । समिति गठन पश्चात पदाधिकारीहरुलाई शुभकामना दिदै प्रमुख अतिथी थापाले नमुना विद्यालयमा पर्न सफल विद्यालयको चौतफी विकासको लागि निरन्तर लाग्न आग्रह गरे । त्यस्तै रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्याल, नेपाल कम्युनिष्ट पार्टी नेकपा रामपुरका इन्चार्ज राजु प्रसाद श्रेष्ठ, नेपाली कांग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराईले समेत शुभकामना दिएका थिए । बैठकको सञ्चालन प्रधानाध्यापक बालकृष्ण लम्सालले गरेका हुन् । त्यस्तै समितिको बुधबार बसेको बैठकले गठन प्रक्रियामा सहयोग गर्ने सरोकारवालाहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।