Shittalpati
‘योमरी’: जाडोमा खानै पर्ने नेवारी परिकार

मदन देउराली

यसपाली जाडोको शुरुवात भैसकेको छ । अब न्यानो–न्यानो तातो–तातो खानेकुराहरु खाई शरिरलाई तन्दुरुस्त बनाई राख्न जरुरी भैसकेको छ । यस्ता जाडोको लागि न्यानो खाने कुरामा पर्दछ नेवारी खाना योमरी पनि । प्रत्येक बर्ष मंसिर शुक्ल पक्ष मंसिर महिनामा यो चाड मनाइन्छ । यःमरी पुन्ही नेवार समुदायको एक मौलिक चाडपर्बको रुपमा मानिन्छ । आज धान्य पूर्णिमा, योमरी पुन्ही । मंसिर शुक्ल पूर्णिमाका दिन यःमरी बनाई विभिन्न देवी देवताहरुको मठ मन्दिरमा गएर चढाउने अनि सबै इष्ट मित्रहरुलाई बाँडेर खाने चाड भएकाले यस दिनलाई यःमरी पुन्ही भनिएको हो । प्रत्येक वर्ष मार्गशिर्ष शुक्लपक्ष पूर्णिमा तिथिलाई धान्य पूर्णिमा भनिन्छ । असारमा रोपेको प्रमुख बाली धान मंसिरमा पाकेर काटेर, चुटेर, सुकाएर सफा गरेर घर–घरमा भित्राएर तथा थन्काए पछि धर्तिमाता प्रति कृतज्ञता प्रकट गर्न धान्य पूर्णिमा पर्व मनाइने गरेको र यसलाई धान्य पूर्णिमा भन्ने गरेको हो भनिन्छ । आफ्नो घरको धान भकारीमा भरेर राख्ने तथा धान कम नहोस र जहिले पनि धन धान्यले भरिभराउ भई रहोस् भनेर यो पर्व मनाइने भएकाले यो पूर्णिमालाई धान्य पूर्णिमा पनि भन्ने गरिएको पाइन्छ । वर्षदिनको मेहनत धान बाली भित्राइएको खुशियालीमा धानको मिठो परिकार धानको भकारीमा राखि पूजा गर्ने चलन नै योमरी पुन्ही हो । योमरी पुन्हीलाई नेवारी समाजमा विशेष महत्व दिएर मनाउने गरिन्छ । योमरी विशेष गरी नेवारी समुदायले बनाउने भएकाले यसलाई नेवारी रोटी पनि भन्ने गरिन्छ । यो रोटी सबैले रुचाउने भएकोले यसको नाम नै योमरी रहन गएको हो । नेपाल भाषामा यो भनेको रुचाउनु तथा मरी भनेको रोटी हो । त्यसैले पनि यसलाई योमरी अर्थात् सबैले रुचाउने रोटी भनिएको हो । धार्मिक एवं सांस्कृतिक पूजा पर्वदेखि जीवन संस्कारमा समेत उपयोगमा ल्याइने सबैको मन पर्ने यो रोटीलाई नेवारी समाजमा सबैजसो राम्रो काममा योमरी चढाएर स्वागत गरिनुलाई नेवारी मौलिक परम्परा मानिन्छ । यसलाई भौतिकरुपमा वर्णन गर्नु पर्दा चामलको पिठो मुछेर खोक्रो अण्डाकार जस्तो बनाई त्यस भित्र चाकु र तिलको लेदोको मिश्रण राखि वा मास, केराउ, मुगी, कुराउनी, खुवा वा मासुको किमा राखेर बफाएर बनाइन्छ । नयाँ चामलको पिठोबाट विभिन्न देवी देवता बनाउदा गणेश, लक्ष्मी, कुबेर, कुमार, कछुवा, चरा आदि आदि पनि बनाइन्छ भने दुईटा ठूला–ठूला साइजको योमरी पनि बनाइन्छ जसलाई तान्त्रिकरुपमा मायो र बायो भनिन्छ जसले प्रकृति र पुरुष अर्थात् महिला र पुरुषको प्रतिनिधित्व गरेको मानिन्छ ।

योमरीको प्रारम्भ कसरी भयो भन्ने सवालमा यसको लोककथा वा मिथकसम्म पुग्नु पर्ने हुन्छ । काठमाडौंमा प्रचलित कथा अनुसार पाँचाल नगर हालको पनौतिमा सुचन्द्र र कृति नामक दम्पतीको उदारताको परीक्षा लिन स्वयं धनका देवता कुबेर याचकको रुपमा उनका घर पुगेका थिए । अपरिचित पाहँुनालाई ति दम्पतिले तृप्त हुने गरी योमरी खुवाइ सत्कार गरेछन् । ति दम्पतिको सेवा सत्कारबाट प्रसन्न भई कुबेरले आफ्नो असली स्वरुप देखाई उपहारका रुपमा बिमिरो दिएर अन्न भकारीमा योमरीको गणेश, लक्ष्मी, कुबेर आदिको मूर्ति बनाई चार दिनसम्म पूजा गर्न भनेका रहेछन् । सोही अनुसार चार दिन पछि सो विमिरो सुनमा परिणत भई ति ब्राम्हण दम्पतिको घरमा समृद्धि भित्रिएको भनिन्छ । त्यसैले पनि नेवारी समाजमा योमरीको प्रचलन भएको पाइन्छ । वास्तवमा सांस्कृतिक, धार्मिक तथा पौष्टिकताको आधारमा पनि यस पर्व भित्र सिंगो नेवारी समुदायको सभ्यता र संस्कृति समेटिएको पाइन्छ । इतिहास केलाउने हो भने भाषा वंशावली अनुसार यो परम्परा अंशुवर्माको पालादेखि प्रारम्भ भएको मानिन्छ । त्यसबेला ललितपुरका बलभद्र भन्ने व्यक्तिले पहिलोपटक काठमाडौंमा धान रोपी त्यसको यमरी बनाएको उल्लेख गरिएको छ । भनिन्छ बलबल भन्ने राजाले जनताका लागि आफैले खेत खनेका थिए रे वास्तवमा राजाले खेत खन्न हुन्न भन्ने मान्यतालाई राजाले मरे मरौला भनि खेत खनेर धान रोपेका थिए रे । त्यही धान फले पछि योमरी बनाएको पनि भनिन्छ । त्यसैले पनि सो राजा बलबलको स्मृतिमा ललितपुरमा हलो सहितको मूर्ति राखिएको छ जुन संबत १०९ मा निर्माण गरिएको भनिन्छ र यसमा आज पर्यन्त स्थानीय बासिन्दाहरुले आजैको दिन अर्थात् योमरी पूर्णिमाका दिन योमरी चढाउने गर्दै आइरहेका छन् । काठमांडौ उपत्यकमा किसानहरुले आफ्नो बालीको अन्न भित्राइसके पछि नयाँ अन्नबाट योमरी बनाई देवी अन्नपूर्ण मातालाई चढाई मात्र आफुहरुले प्रयोग गर्ने गर्दछन् ताकि उनीहरुको खेतबाट राम्रो उव्जनी भईरहोस् भनेर । पूर्णिमाको दिन बनाई देवी देवतालाई चढाईएको यमरी चौथो दिनमा मात्र निकालिन्छ र प्रसादको रुपमा आफ्ना नातेदार, छरछिमेकी सबैलाई बाँडिन्छ । यसरी चार दिन पछि झिक्नुको अर्थ सञ्चय गर्नु पर्छ भन्ने बोध गराउँछ भनिन्छ ।

नयाँ घरको प्रतिस्थापनमा पनि छतबाट योमरीको वर्षा गराइन्छ भने विषेश उत्सवहरुमा योमरीको माला लगाउने पनि गर्दछन् । नेवारी समुदायमा गर्भवती महिलालाई उनको पेट भित्र हुर्किरहेको शिशुको सुस्वास्थ्यको कामना गर्दै पौष्टिकताले भरिपूर्ण होस् भनि नवौं महिनामा दही चिउरा खुवाउने क्रममा योमरी पनि खुवाइन्छ । त्यस्तै गरी बच्चाहरु दुईदेखि बाह्र वर्ष बिच जोड वर्षको जन्मोत्सवमा पनि तथा जेष्ठ नागरिकको जंकु ( बुढो पास्नीं)को बेला पनि योमरीको माला लगाई दिने चलन छ । मंसिर पूर्णिमा अर्थात् योमरी पुन्हीको दिनदेखि दिन लामो हुँदै जाने र रात छोटो हुँदै जान्छ । त्यसैले पनि योमरी बनाउँदा जति लामो बनाउन सकियो त्यति लामो बनाउने गरिन्छ । नेवारी समाजमा तिहारमा देउसी भैलो खेल्ने चलन छैन तर मंसिर महिनामा योमरी पुन्हीको दिन घर–घरमा गीत गाई योमरी माग्ने चलन छ । यसरी गाइने गीतको गहराईमा जाने हो भने योमरी संकलन गर्न जाँदा दिनेको प्रशंसा र नदिनेको निन्दा गरेको पनि देखिन्छ साथै गीतको माध्यमबाट नेवारी समाजमा प्रचलित मानापाथी तथा दैनिकरुपमा आवश्यक सामग्रीको संरक्षण पनि गरेको पाइन्छ । योमरीलाई न्यानो परिकारको रुपमा लिइन्छ र यो खाएमा जाडो भगाउँछ भन्ने मान्यता पनि छ । जाडोको बेला बनाइने योमरी स्वास्थ्यको दृष्टिकोणले अति उत्तम मानिन्छ । हाम्रो शरिरमा प्राकृतिकरुपमा चिसोबाट जोगिन कार्बोहाइडे«टको आवश्यकता पर्दछ जुन यमरीबाट पूर्ति हुन्छ । तुलनात्मक रुपमा नयाँ चामलको पिठो बढी खँदिलो हुने भएकोले चाँडै भोक लाग्न दिंदैन त्यसमाथि यसमा भएको चाकुले थप उर्जा दिन्छ । शरिरमा हेमोग्लोविनको कमी नहोस् भनेर योमरीमा चाकु राखिन्छ साथै यसमा तिल पनि मिसाइन्छ । तिलले चिसो मौसममा आवश्यक उर्जा दिन्छ भने यसमा भएको कोलेस्ट्रोलले रगत पातलोे बनाउन मद्धत गर्छ भनिन्छ ।

तानसेनमा रहेका प्रायजसो नेवार समुदायहरुको घर–घरमा योमरी बनाइन्छ । उनीहरुले आफनो परिवारमा खानको लागि मात्र भए पनि बनाउने गर्दछन् । त्यसबेला कतिपय नेवारहरुको आफनो खेतीपाती हुन्थ्यो, प्रशस्त धान आउँथ्यो । घरमा नयाँ अन्न धान भित्राई सके पछि सो धानको पीठोबाट योमरी बनाइन्थ्यो तर आजकाल खेतीपाती छोडे नयाँ धान आउँदैनन त्यसैले बजारबाट चामल ल्याएर त्यसैको योमरी बनाउँछन् । योमरी बनाउँदा पहिला भगवानलाई चढाउनु पर्छ भनेर एकदिन अगाडि नै बनाउन शुरु गर्छन् । यी बनाइएका सबै योमरीलाई धानको भकारीमा वा टीनको डब्बा वा बाटा आदिमा चामलमाथि राखिन्छ र पूजा गरिन्छ । मनले चिताएको पूरा होस् भनि भगवानको प्रार्थना गर्दछन् । अग्रज घरमूलि भएकाहरुले आफ्ना चलीबेटीहरु, नातेदारहरुलाई बोलाई विभिन्न परिकारका भोजसंगै योमरी पनि खुवाउँछन् । चार दिन पछि भकारीमा राखिएका सबै योमरी निकाली पुन प्रसादको रुपमा सबैलाई बाँडिन्छ । वास्तवमा नेवारी समाजको जनजीवन नै एकप्रकारले कलापूर्ण मान्नु पर्छ । खानेकुरा देखि पिउने, बस्ने आदिमा समेत कलाको भूमिका रहेको हुन्छ । योमरी बनाउने शिल्पकलाले यो तथ्य स्पष्ट गराउँछ । अस्तु ।

(लेखक देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठान पाल्पाका अध्यक्ष समेत हुन्।)

प्रकाशित मिति: आइतबार, पुस ४, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update