Shittalpati
रेसुङ्गा विमानस्थल निर्माणको कामले तीव्रता पायो

गुल्मी, जिल्लाको सिमीचौरमा निर्माणधिन अवस्थामा रहेको रेसुङ्गा विमानस्थल निर्माणको कार्यले तीव्रता पाएको छ । केही समय सुस्ताएको निर्माणको कामले अहिले भने तीव्रता पाएको हो । अहिले अन्तिम चरणमा रहेका टर्मिनल भवन र धावन मार्गको कामले तीव्रता पाएको छ । विमानस्थलकोे अन्तिम चरणका काम मध्ये घेरावारको काम सकिएको छ, भने धावन मार्ग र टर्मिनल भवनको काम पनि ८० प्रतिशत सम्पन्न भइसकेको रेसुङ्गा निमानस्थलका सहायक आयोजना प्रमुख दिनेश परियारले जानकारी दिए ।

उनले अब केहि दिनमै विमानस्थलले अन्तिमरुप पाउने बताए । धावन मार्गको कालोपत्रे गर्ने निर्माण व्यवस्थायीले विभिन्न कारण देखाएर निर्माण कार्यले गति लिन सकेको थिएन् । अहिले पुरानो निर्माण व्यवसायीले काम नगरेकाले नयाँ निर्माण व्यवसायीले काम अगाडि बढाएको हुँदा अब भने समयमै काम सकिनेमा विश्वास पलाएको रेसुङ्गा नगरपालिका–१० का वडाअध्यक्ष पदमप्रसाद अर्यालले बताए । धावन मार्ग कालोपत्रे गर्न सुरुमा मुख्य निर्माण व्यवसायीबाट काम लिएका व्यवसायीले काम नगरेकै कारण समयमै काम सम्पन्न हुन नसकेको उनको भनाई छ ।

विमानस्थल निर्माणका लागि बजेटको कमी नभएपनि निर्माण व्यवसायीकै ढिलासुस्तीले कामले गति लिन नसकेको अर्यालले बताए । अब भने पछिल्लो एक हप्ताकै कामको गतिले धेरै आशा जगाएको अर्याललको भनाई छ । उनका अनुसार सबै क्षेत्रको चासो बढेकाले अब कुनै पनि हालतमा निर्माण कार्य ढिलो हुनेछैन । धावन मार्ग कालोपत्रे गर्न सम्पूर्ण सामग्री तयारी अवस्थामा राखिएकाले बिचमा कुनै अवरोध नआए अबको डेढ महिना भित्र काम सम्पन्न गर्ने निर्माण व्यवसायी दिपक पाण्डेले बताए । निर्माणको जिम्मा लिएको एक हप्तामै आफुले धेरै काम अगाडि बढाएकाले अब केहि दिनमै काम पुरा गर्ने पाण्डेले बताए । उनका अनुसार कालोपत्रे गर्न चिसोले कुनै असर नगर्ने भएकाले कालोपत्रे गर्ने काम सम्पन्न हुने बताए । रेसुङ्गा विमान स्थलमा २०७५ साल जेठ २७ गते परीक्षण उडान पनि गरिएको थियो । तर परीक्षण उडान सफल भएपनि अन्य कामहरु निकै सुस्त गतिमा हुँदै आएका थिए । विमानस्थलको टर्मिनल भवन निर्माणको लागि २०७६ चैत ४ गते ४ करोड ५ लाखमा सम्झौता भई बिकोई श्रेष्ठ जेभीले काम गरिरहेको छ । २०६३ सालमा तत्कालिन संस्कृति तथा पर्यटन मन्त्री प्रदीपकुमार ज्ञवालीले विमानस्थलको शिलान्यास गरे पनि २०७२ साल पछि निर्माणको कामले निरन्तरता पाएको हो ।     –अनिल खत्रीको सहयोगमा

प्रकाशित मिति: शुक्रबार, पुस २, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update