Shittalpati
शक्तिशाली देउवा

काँग्रेसको १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा झन् शक्तिशाली बनेका छन् । १३ औं महाधिवेशनको भन्दा पनि देउवा अहिले शक्तिशाली बने । अघिल्लो महाधिवेशनमा उनको साथमा नभएका ‘सिनियर’ नेताहरू समेत यस पटक उनीसँगै उभिएका छन् । जसले उनलाई आगामी दिनमा पार्टी चलाउन सहज हुने देखिन्छ । १३ औं महाधिवेशनमा देउवाले सभापतिका लागि रामचन्द्र पौडेल र कृष्ण सिटौलासँग प्रतिस्पर्धा गरेका थिए । निर्वाचन दोस्रो चरणमा गएपछि सिटौलाको समर्थन पाएर उनी सहजै निर्वाचित भएका थिए । त्यतिबेला पौडेलको प्यानलबाट उपसभापति लडेका प्रकाशमान सिंह पनि अहिले देउवाको पक्षमा उभिएका छन् । देउवा १४ औं महाधिवेशमा दोस्रो पटक सभापति निर्वाचित भएका छन् । दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ८ सय ७८ मतले पराजित गर्दै उनी सभापति बनेका हुन् । सोमबार भएको मतदानमा कसैले पनि ५० प्रतिशत मत ल्याउन नसकेपछि बढी मत ल्याउने दुई जनाबीच मंगलबार पुनः निर्वाचन गराएर काँग्रेसको नेतृत्व चयन गरिएको हो । दोस्रो चरणमा देउवा २ हजार ७ सय ३३ मत ल्याएर निर्वाचित भएका हुन् ।

अघिल्लो महाधिवेशनमा सँगै प्रतिस्पर्धा गरेका पौडेल यसपटक तटस्थ बस्दा पनि देउवालाई निर्वाचन जित्न सहज भएको हो । त्यति मात्रै होइन, परिवारकै सदस्य डा.शेखर कोइराला उम्मेद्वार हुँदा पनि निवर्तमान महामन्त्री तथा बिपीपुत्र शशांक कोइराला समेत तटस्थ बसे । यसले पनि देउवालाई थप बलियो बनायो । लामो समय देउवाकै गुटमा रहे पनि यसपटक उनीबाट टाढिएर सभापतिको उम्मेद्वार बनेका विमलेन्द्र निधिसँगको सम्बन्ध पनि दोस्रो चरणको निर्वाचनले सुमधुर बनाइदियो र उनी पनि देउवाकै पक्षमा उभिए । डेलधुराको गन्यापधुरा गाउँपालिका–१, रुवाखोलामा २००३ सालमा जन्मिएका देउवा २५ वर्षको उमेरमा नेपाल विद्यार्थी संघको अध्यक्ष भएका थिए । उनले पटक–पटक गरेर ९ वर्ष जेलजीवन बिताए । उनको राजनीतिक यात्रा निकै सफल मानिन्छ । दोस्रो पटक शक्तिशाली सभापतिका रुपमा निर्वाचित भएका देउवाले अब पार्टीलाई गुटको अन्त्य गरी थप सशक्त र नयाँ भिजन सहित अगाडि बढाउन जरुरी छ ।

प्रकाशित मिति: बिहीबार, पुस १, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update