Shittalpati
युवा उद्यमी सम्मेलन हुँदै

बुटवल, रूपन्देहीमा युवा उद्यमी सम्मेलन २०२१ हुने भएको छ । युवाहरुको विदेश पलायन रोक्ने र युवा उद्यमशीलता बढाउने उद्देश्यले नेपाली युवा उद्यामी मञ्च रूपन्देहीले पुस ३ गते सम्मेलन गर्न लागेको हो । नेपाली युवा उद्यमी मञ्च रुपन्देहीले पत्रकार सम्मेलन गरी सम्मेलन आयोजना गर्ने जनाएको छ । सम्मेलनमा करिब १० सफल ब्यवसायी तथा सफल कम्पन्नीहरुको स्टलको प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

देशका विभिन्न भागबाट आकांक्षी उद्यमी तथा स्टार्टअपहरुलाई एक साथमा ल्याउने योजना सहित सम्मेलनको आयोजना गर्न लागिएको मञ्च रुपन्देहीका अध्यक्ष प्रदिप शाक्यले जानकारी दिए । उद्यमी हुन चाहने युवालाई सहजीकरण गर्ने, युवा उद्यमीबीच सम्पर्क विस्तार गर्ने, प्रतिस्पर्धी व्यवसायको पहिचान गर्ने लगायतको लक्ष्य समेत सम्मेलनको रहेको उनको भनाई छ । अध्यक्ष शाक्यले सम्मेलनका मुख्य वक्ता तथा सफल व्यवसायीले आफ्नो उद्यमी यात्रा र प्रेरणदायी अनुभव सुनाउने भएकाले उद्यम गर्न चाहेकालाई कार्यक्रम फलदायी हुने विश्वास ब्यक्त गरे । सम्मेलनमा युवा उद्यमशीलता प्रवर्द्धन गर्न लगानीकर्ता बैंकर र उद्यमीहरु बीच छलफल गराइने छ । सम्मेलनमा सात वटै प्रदेशका उत्कृष्ट युवा उद्यमीहरु सहित ३ सय ५० जनाको सहभागिता रहने जनाइएको छ । युवा उद्यमी सम्मेलन काठमाडांैमा २०६८ सालमा आयोजना भएको थियो । यस किसिमको कार्यक्रम काठमाडौ उपत्यका बाहिर पहिलो पटक रुपन्देहीमा हुन लागेको आयोजकले जनाएका छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर २९, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update