.jpg)
गुल्मी, जिल्लामा रहेका सडक बालबालिकाहरुको उद्दार गरी विद्यालय पुर्याइएको छ । सदरमुकाम तम्घासका विभिन्न स्थानबाट उद्दार गरी १५ जना सडक बालबालिकालाई विद्यालय पुर्याइएको हो । जिल्ला प्रहरी कार्यालयले सडक बालबालिकाहरुलाई उद्दार गरी विद्यालय भर्ना गरेको छ । परिवारको हेरविचार अभावका कारणले सडकमा आउने बालवालिकाको रक्षाका लागि प्रहरीले चासो देखाएको हो ।
प्रहरीले तम्घास बजार क्षेत्रका विभिन्न स्थानबाट जम्मा गरेका सडक बालबालिकाहरुलाई अभिभावकको जिम्मा लगाएर उनीहरुले पढन चाहेको बिद्यालयमा पढ्ने व्यवस्था मिलाएको छ । बालबालिका विशेष परिस्थितिले सडकमा आउन बाध्य हुने गरेकोतर्फ चासो देखाउँदै उनीहरुलाई पढ्ने व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तम्घासका सार्वजनिक स्थानमा अभिभावकले वेवास्ता गरेका कारण बालबालिका सडक छाप हुँने क्रम बढ्दै गएकाले पहिलो चरणमा फेला परेका बालबालिकाहरुलाई स्कुल ड्रेस सहित मिलाएर विद्यालयमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले बताए । सडक बालबालकालाई वेवास्ता गरे उनीहरुले बजार क्षेत्रमा दुर्घटना बढाउने र पछि लागु औषध र चोरी डकैतीमा लाग्न सक्ने भएकाले बेलैमा उद्दार गर्नुपर्नेमा उनले जोड दिए । सडक बालबालिकालाई भर्ना गर्न विद्यार्थी लिएर प्रहरी उपरीक्षक भट्टराई विद्यालयमा आफै पुगेका थिए । उनले विद्यार्थीलाई नियमित स्कुलमा मात्रै भएपनि आउने बानी बसाल्ने गरी वातावरण तयार गरिदिन विद्यालय परिवारलाई आग्रह गरे । बजारमा अझै पनि सडक बालबालिका हुनसक्ने भएकाले खोजी कार्य जारी राख्ने उनले बताए । उनले बालबालिकालाई नियमित स्कुल पठाउन पनि आग्रह गरे ।
केहि वर्ष यता तम्घासमा सडक बालबालिकाहरु सडकमै मागेर खाने तथा जहाँ पायो त्यहि बस्ने, फोहोर गर्ने लगायतका क्रियाकलापहरु गर्दै आएका छन् । जिल्लाको सदरमुकाम तम्घासमा सडक बालवालिकाका अभिभावकहरु ज्याला मजदुरी गर्ने र बालबालिकाहरुलाई हेरचाह नगर्नाले दिनानुदिन बालबालिकाहरु सडक छाप हुने क्रम बढ्दै जान थालेको हो । सडकम बालवालिकालाई विद्यालय पढ्न आउने बानी बसाल्नको लागि अधिकत्तम प्रयास गर्ने महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद मरासिनीले बताए । –अनिल खत्रीको सहयोगमा