Shittalpati
काँग्रेस महाधिवेशनको सार्थकता

लुककोे लोकतान्त्रिक र ठूलो, पुरानो पार्टी नेपाली काँग्रेसको १४ औं महाधिवेशन काठमाडौंमा जारी छ । यतिबेला समग्र देश र विदेशको ध्यान काँग्रेसको महाधिवेशनमा केन्द्रित छ । पार्टीको नयाँ नेतृत्वका लागि संभवतः आज निर्वाचन हुनेछ । नेपाली काँग्रेसको यो महाधिवेशनलाई विश्वमै महत्वपूर्ण रुपमा हेरिएको छ । काँग्रेसको महाधिवेशन एउटा राजनीतिक दलको नियमित वैधानिक प्रक्रियाभित्रको विषय भए पनि महाधिवेशन यतिबेला राष्ट्रिय राजनीतिको केन्द्रबिन्दुमा नै परेको छ । काँग्रेसको महाधिवेशनबाट चुनिने नयाँ नेतृत्व र यसले अवलम्बन गर्ने नयाँ नीतिको विषयमा चासोपूर्वक हेरिएको अवस्था छ । अन्य राजनीतिक दल र देश–विदेशबाट समेत काँग्रेसको जारी महाधिवेशनलाई गम्भीर रूपमा हेरिएको छ । नेपाली काँग्रेस मात्र यस्तो पार्टी हो जसको मूल सिद्धान्त नै प्रजातन्त्र हो । यसकारण पनि काँग्रेसको महाधिवेशनलाई विशेष चासोका साथ हेर्ने गरिएको हो । नेपालमा प्रजातन्त्र र लोकतन्त्रलाई भजाएर अन्य गन्तव्यमा पुग्न खोज्नेहरु धेरै छन् । तर, काँग्रेस कहिल्यै विचलित नहुने पार्टी हो ।

महाधिवेशनको प्रक्रिया अन्तर्गत काँग्रेसले यस पटक १३ पदाधिकारीसहित १३४ केन्द्रीय तहको नयाँ नेतृत्व निर्वाचित गर्दै छ । काँग्रेसले पछिल्लो संवैधानिक प्रावधान अनुसार पार्टीको विधानलाई परिमार्जन गरी सोहीअनुसारको नेतृत्व निर्वाचित गर्ने प्रक्रिया अगाडि बढिरहेको छ । काँग्रेसले यस पटकको महाधिवेशनको नारामा रूपान्तरणलाई विशेष जोडतोडका साथ उठाएको छ । यस पटकको महाधिवेशनमा सम्पूर्ण रूपमा समावेशी चरित्रको महाधिवेशन प्रतिनिधिको उपस्थिति हुनुले पनि काँग्रेस रूपान्तरणको पक्षमा रहेको सन्देश दिइसकेको छ । यसले पार्टीलाई समयानुकूल जीवन्त बनाउन पक्कै सहयोग पुग्ने आशा गर्न सकिन्छ । तर पुरानै पुस्ताका नेताहरुले पुनः नेतृत्वका लागि दोहोरिन खोज्नु चाही गलत हो । जनतालाई सजग बनाउने जुझारु इतिहास बोकेको काँग्रेसमा वृद्ध नेताले ठाउँ ओगटिरहनु विडम्वना हो । यसले पुस्तान्तरणको पाटोलाई भने चुनौती दिएको छ । अन्य राजनीतिक दल र जनतालाई लोकतन्त्र, विकास, शान्ति र समृद्धिको लागि काँग्रेस नै भरपर्दो राजनीतिक शक्ति हो भन्ने विश्वास जागृत गराउनु अहिलेको आवश्यकता हो । पार्टीभित्रको आन्तरिक लोकतान्त्रिक प्रतिष्पर्धालाई सदुपयोग र प्रभावकारी बनाउँदै नयाँ नेतृत्व निर्वाचित गरेर काँग्रेसले अन्य राजनीतिक शक्ति र आम जनतालाई अर्थपूर्ण सन्देश दिन सक्नुपर्छ, यसो हुन सक्यो भने मात्र काँग्रेस महाधिवेशनले सार्थकता पाउन सक्छ ।

प्रकाशित मिति: सोमबार, मंसिर २७, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update