Shittalpati
वडा–वडामा सेवा पुर्‍याउँदै पूर्वखोला गाउँ सरकार

कृष्ण पोखरेल
पाल्पा, नागरिकहरुलाई घर–घर, वडा–वडामा सेवा सुविधा प्रदान गर्न पूर्वखोला गाउँपालिकाले वडा–वडामा एकिकृत घुम्ती शिविर सञ्चालन गरेको छ । जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा पूर्वखोला गाउँपालिकाले वडा वडामा एकिकृत घुम्ती शिविर सञ्चालन गरी जनताको काम घरदैलोमा अभियान शुरु गरेको हो ।

गाउँपालिकाले वडा–वडामा पुगेर व्यवसाय दर्ता, स्वास्थ्य शिविर, कृषि तथा पशु सेवा शिविर, महिला हिंसा न्यूनिकरण अभियान, अपाङ्ग परिचयपत्र वितरण, स्वास्थ्य शिविर, योजना सम्झौता तथा भइपरी आएका नागरिक समस्याहरु एउटै थलोबाट सम्वोधन गर्ने गरी एकिकृत घुम्ती शिविर सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरुले बताए । कोभिड १९ को सक्रमणसँगै जनतालाई पालिकाको केन्द्रसम्म पुग्न समेत कठिन भइरहेको समयमा पालिकाले प्रदान गर्ने सबै कसिमका सेवा सुविधा सहित वडा वडामा पुगेर घुम्ती शिविर सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले बताए । वडा–वडामा सेवा लिनेको भिडभाड नै भयो, नागरिक राखेका गुनासाहरु अधिकांश सोही स्थानमै सम्वोधन गरेको, वडामा सम्वोधन नभएका गुनासा, सुझाव तथा उजुरीहरु पालिकाबाट सम्वोधन गर्ने गरी टिपोट गरी ल्याएको प्रमुख प्रशासकीय अधिकृत पनेरुले बताए । नागरिकहरुले गरेका माग, सुझाव तथा गुनासाहरु केही कार्यपालिकाको बोड बैठकबाट केही गाउँ परिषदबाट सम्वोधन गरिने गाउँपालिका अध्यक्ष थापाले बताए ।

वडा–वडाबाट भएको एकिकृत घुम्ती शिविरले घरदैलोमा व्यवसाय दर्ता तथा नविकरण गर्न पाएको, खेतीपाती तथा पशुपालनको विषयमा जानकारी लिएको, पालिकाले कृषि तथा पशुपालनमा प्रदान गर्ने अनुदान तथा सहुलियतका बारेमा जानकारी पाएको जल्पाकी रुमी सारुले बताइन् ।

एकिकृत घुम्ती शिविरमा लैङ्गिक हिंसाको जानकारी दिएका छौं, परिवार, समाजमा घर–घरमा भएका महिला हिंसा बारे सचेतना, कानुनी उपचार, कानुनी सेवा पालिकाबाट हुने सम्वोधन लगायतका विषयमा छलफल तथा अन्तक्र्रिया गर्दै पालिकाकी उपाध्यक्ष भागिरथी शर्मा भट्टराईले बताइन् । पालिकाले एकिकृत घुम्ती शिविरबाट वडा १ सिलुवामा २५ जनालाई, वडा २ जल्पामा १० जनालाई, वडा ३ रिङनेरहमा ८ जनालाई, वडा ४ देवीनगरमा २१ जनालाई, वडा ५ विरकोटमा १३ जनालाई र वडा ६ हेकलाङ्गमा ११ जनालाई अपा· परिचयपत्र वितरण गरेको छ । पालिकाले घुम्ती शिविर मार्फत ९१ वटा व्यवसाय दर्ता तथा नविकरण गरेको सूचना अधिकारी मोहन ढकालले बताए । एकिकृत घुम्ती सेवालाई निरन्तरता दिने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update