
रासस
काठमाडौं, सरकारका प्रवक्ता डा.युवराज खतिवडाले सरकारले अत्यावश्यक वस्तुको आपूर्तिमा कुनै समस्या नरहेको स्पष्ट पार्दै अनावश्यक हल्लाको पछि लागेर वस्तु भण्डारण नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । नेपालमा संक्रमण नरहेको कोरोनाभाइरस (कोभिड–१९) को अनावश्यक त्रासका कारण अत्यावश्यक वस्तुको अभाव हुने आशंका उब्जाउन जरुरी नभएको सरकारले प्रष्ट पारेको छ । सरकारले छ महिनासम्म पुग्ने अत्यावश्यकीय वस्तु मौज्दात रहेको भन्दै सर्वसाधारणलाई आश्वस्त पारेको हो । खरिद गर्ने मान्छेले एक महिनालाई चाहिने औषधि चार महिनाको किनिदियो भने हिसाब नमिल्ने भन्दै प्रवक्ता खतिवडाले खाद्यान्न र औषधी झण्डै छ महिनाका लागि पुग्ने र इन्धन तीन महिनालाई पुग्ने गरी मौज्दात रहेको जानकारी दिए ।
कृत्रिम अभाव सिर्जना गर्ने र अस्वभाविक मूल्य असुल गर्नेलाई सामाजिक अपराधका रुपमा कारवाही गर्नेसमेत सरकारले चेतावनी दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको कोभिड–१९को रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकमा औषधी लगायत अत्यावश्यक वस्तुको आपूर्तिको सम्बन्धमा सरोकारवालासँग छलफल भएको थियो । उक्त समितिको संयोजकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल रहेका छन् । समितिको यो तेस्रो बैठक हो । यसअघि फागुन २२ मा बसेको दोस्रो बैठकले कोरोना भाइरस भित्रिन नदिनगरिएको विगतको प्रयासको समीक्षा गर्दै थप उच्च सतर्कता अपनाउने निर्णय गरेको थियो । सरकारले कुनै समस्या परेमा तत्कालै खटिने गरी मुख्य सचिवको नेतृत्वमा ‘एक्सन कमिटी’ बनाइसकेको छ ।
अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका सरकारका प्रवक्ता डा.खतिवडाले वस्तुको अभाव हुने भनेर फैलाइएको अनावश्यक हल्लाको पछि नलाग्न नागरिकलाई अनुरोध गरेका छन् । बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री खतिवडाले अन्य वस्तुमा समस्या छैन, केही औषधिजन्य वस्तुमा भारतले प्रतिबन्ध लगाएको सन्दर्भमा भन्सार विन्दुमा आएको वस्तु छुटाउने र अन्य विषयमा कूटनीतिक तहमा वार्ता गरी आवश्यकीय वस्तु अभाव हुन नदिन अनुरोध गरिसकिएको छ, त्यसमा पनि अब समस्या छैन, भने ।
उक्त बैठकमा उद्योगी, व्यवसायीले सरकारको तर्फबाट एकीकृत रुपमा वास्तविकसूचना बाहिर नआउँदा बजारमा समस्या आएको बताए । सीमानाका र विमानस्थलबाट आवतजावत गर्ने व्यक्तिको स्वास्थ्य परीक्षणलाई व्यवस्थित गर्न व्यवसायीले सरकारसँग अनुरोध गरेका छन् । नेपालबाट विदेश जाने सबै स्वस्थ छन् भन्ने सन्देश विश्वमा पुर्याउन जरुरी छ भनेर सरकारको ध्यानाकर्षण गराएको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए ।