
पाल्पा, जिल्लाको माथागढी गाउँपालिकाले विद्यालयहरुको अनुगमन गरेको छ । गाउँपालिकाले विद्यालयको गुणस्तरीयता, भौतिक अवस्था, विद्यार्थीहरुको अवस्था लगायतका विषयमा स्थलगत अनुगमन गरेको हो । गाउँपालिकाका प्रवक्ता मधु पराजुली, प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवाली, शिक्षा कार्यक्रम संयोजक अशेष भट्टराई र शिक्षा सम्पर्क व्यक्ति गजेन्द्र पन्थीको टोलीले पालिका भित्रका विद्यालयहरुको अनुगमन गरेको छ ।
मंसिर २१ गतेदेखि गाउँपालिकाले छड्के अनुगमन गर्दै आएको छ । अनुगमन टोलीले पहिलो दिन वडा ४ स्थित किसान मावि र कर्णधार प्राविको अनुगमन गरेको हो । विद्यालय शिक्षाको गुणस्तर विकास गर्नका लागि अनुगमनलाई प्रथमिकता दिइएको गाउँपालिका प्रवक्ता मधु पराजुलीले बताए । उनले गाउँपालिका भित्रका विद्यालयमा गाउँपालिकाकाले बेला बेलामा अनुगमन गर्दै आएको समेत जानकारी दिए । अनुगमनका क्रममा शिक्षक विद्यार्थी हाजिरी, बैठकका निर्णय र नियमितता, सम्पूर्ण कक्षा अवलोकन, भौतिक तथा प्रशासनिक पक्षको सूक्ष्म अनुसन्धान गरिएको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताए । कुनै पूर्व सूचना बिना गरिएको आकस्मिक अनुगमनले विद्यालयको यथार्थ अवस्था जानकारी लिन सकिने शिक्षा कार्यक्रम संयोजक अशेष भट्टराईले बताए । उनले भने ‘अनुगमनबाट विद्यालयका सबल र सुधार गर्नुपर्ने पक्षहरु केलाउन सकिने छ ।’ विद्यार्थी, शिक्षक र प्रअसँगको छलफल, कागजात निरीक्षण, सबै कक्षा अवलोकन र भौतिक निरीक्षण पश्चात विद्यालयको सबल र सुधार गर्नुपर्ने कुराहरु लिखित रुपमै दिइएकाले विद्यालयको गुणस्तर सुधार हुने गाउँपालिकाले जनाएको छ । गाउँपालिका भित्रका सम्पूर्ण ४५ वटै विद्यालयमा यस्तै आकस्मिक निरीक्षण गरिने कार्यक्रम रहेको शिक्षा सम्पर्क व्यक्ति गजेन्द्र पन्थीले बताए ।