Shittalpati
‘लैङ्गिक हिंसा अन्त्यका लागि सबै एक जुट बनौं’

पाल्पा, लुम्बिनी प्रदेश सरकारका कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीले लैङ्गिक हिंसा अन्त्यका लागि सबै एक जुट हुनुपर्ने बताइन् । उनले सरकार एक्लैले मात्र हिंसा अन्त्य गर्न नसक्ने भएकाले सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताइन् । माथागढी गाउँपालिकाको दिव्यज्योति नमूना माविमा भएको हिंसा विरुद्धको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री घर्तीले यस्तो बताइएकी हुन् । उनले लैङ्गिक हिंसा न्यूनीकरण गर्न सबैपक्षले मिलेर काम गर्नुपर्नेमा जोड दिइन् ।

सरकारले चाहेर मात्र महिला तथा लैङ्गिक हिंसा अन्त्य नहुने भन्दै मन्त्री घर्तीले घरबाटै हुने विविध खालका हिंसा अन्त्य गर्न सबैले सहकार्य र जिम्मेवार भएर लाग्नुपर्ने धारणा व्यक्त गरिन् । उनले १६ दिने अभियानको शुरुवात नेपालमा वि.सं २०५४ सालदेखि सुरु भएपनि नेपाल सरकारको मन्त्री परिषद्ले भने २०७५ सालमा आएर मात्र लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई सामाजिक सचेतना सहित प्रत्येक बर्ष सबै स्थानीय पालिका, प्रदेश तथा संघमा सञ्चालन गर्ने निर्णय गरेको बताइन् । कार्यक्रममा माथागढी गाउँपालिका अध्यक्ष सन्तोष कुमार थापा मगरले विभेदको अन्त्यका लागि राज्यका हरेक संचनामा रहेको पित्तृसत्तात्मक साेंच र मूल्य मान्यताको अन्त्य जरुरी रहेको बताए । उनले लैङ्गिक समानता, महिलाको आफ्नो शरीर माथिको निर्णय र गतिशीलताको अधिकार सुनिश्चित नभएसम्म महिलाहरु स्वतन्त्र र मर्यादित जीवनयापन गर्न पाउने अधिकारबाट बञ्चित हुनुका साथै, नेपालको संविधान, नेपाल सरकारले अन्तर्राष्ट्रियस्तरमा गरेका प्रतिवद्धताहरु पूर्ण पालना गर्दै, महिला भएकै कारणले भोग्नुपर्ने विभेद तथा हिंसाको अन्त्य गर्ने वातावरण तयार गर्न हामी सबैले सहयोग गर्नुपर्ने बताए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराईले समुदायमा अझै महिला पुरुष नै हिंसामा परिरहेको हुँदा यस अभियान व्यापक रुपमा सञ्चालन गर्नुपर्ने बताइन् । भट्टराईले कार्यालयमा धेरै किसिमका हिंसाका घटना आउने गरे पनि त्यसलाई मेलमिलाप समितिले मिलाउने र नमिल्ने केशलाई रिफर गर्ने गरेको बताइन् । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवलीले नेपाल सरकारले लैङ्गिक हिंसाको सम्बोधनका लागि नीतिगत व्यवस्थाका साथै विभिन्न कार्यक्रम तय गरेको बताए ।

कार्यक्रममा गाउँपालिका वडा अध्यक्षहरु शिवप्रसाद घिमिरे, दिपक थापा, जनक रिजेल, कार्यपलिका सदस्य तथा वडा सदस्यहरु, स्वास्थ शाखा समयोजक केशव जिसी, शिक्षा कार्यक्रम संमयोजक अशेष भट्टराई,नेपाल पत्रकार महासघ अध्यक्ष रिखिराम राना, शिक्षक शिक्षिका अभिभाबक विद्यार्थी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा कानुन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रलयका सचिव राजेन्द्र थापाको अध्यक्षता, दिब्य ज्योती माविका प्रअ नारायण आर्चयको स्वागत, कानुन अधिकृत सीता घिमिरेको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २४, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update