
पाल्पा, जिल्लाको तानसेन नगरपालिका–९ दमकडामा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । शनिबार बिहान दमकडास्थित देउरालीबाट दाउरा लोड गरी दमकडातर्फ गइरहेको लु ४ त ५४३८ नम्बरको ट्याक्टर अचानक ब्रेक फेल भई दुर्घटना हुँदा दमकडाका ४१ वर्षीय दिपक ढकालको मृत्यु भएको हो । उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा परी बगनासकाली गाउँपालिका–२ का २१ वर्षीय हिरा कुमाल भने घाइते भएका छन् । उनको भित्री शरिरमा चोट बढी नै लागेकाले अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ ।
घटनाको विवरणलाई प्रहरीले मोडेर सार्वजनिक गरेको स्थानीयले आरोप लगाएका छन् । प्रहरीले एनजेडीलाई दिएको जानकारी अनुसार मृतक ढकाल चालक र घाइते कुमाल सहचालक रहेको बताइएको छ । तर स्थानीयले भने मृतक ढकाल गाडी धनी र घाइते कुमाल चालक रहेको बताएका छन् । उनीहरुले गाडी कुमालले चलाएको र उनको लाइसेन्स नभएको पनि बताए । स्थानीयका अनुसार ट्याक्टर मृतक ढकालका भाइ तारा ढकालको नाममा रहेको बुझिएको छ । ट्याक्टरमा सालको काठ रहेको स्रोतले जनाएको छ ।