
पाल्पा, राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । शुक्रबार बिहान बसेको बोर्डको बैठकले नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार नतिजा प्रकाशित भएको हो ।
परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार नियमित, ग्रेडवृद्धि र आंशिक गरी ३ लाख ७४ हजार १५ जना विद्यार्थीको परीक्षाफल प्रकाशित गरिएको हो । नियमिततर्फ ३ लाख ३८ हजार ६ सय ८८ जना परीक्षामा सहभागी भएका थिए । तीमध्ये ३.६ देखि ४.० जीपीए प्राप्त गर्ने परीक्षार्थीको संख्या ७ हजार ६३ रहेको छ । कोभिड महामारीका कारण विद्यार्थीले अध्ययन गरेकै विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको थियो भने बोर्डले उत्तरपुस्तिका परीक्षण गरेको हो । गत वर्ष विद्यालयले नै उत्तरपुस्तिका परीक्षण गर्दा माथिल्लो जीपीए ल्याउने विद्यार्थीको संख्या बढेको थियो । गतवर्षको तुलनामा उक्त संख्या घटेको छ ।
बोर्डले सात हजार ६३ परीक्षार्थीले ‘ए प्लस’ र ४८ हजार २ सय ३९ विद्यार्थीले ‘ए’ ग्रेड प्राप्त गर्न सफल भएको जनाएको छ । बोर्डका अनुसार ७० हजार एक परीक्षार्थीले ‘बी प्लस’, ९९ हजार ५ सय ३७ ‘बी’, ७५ हजार ८८ ‘सी प्लस’ र २४ हजार ५ सय १५ परीक्षार्थीले ‘सी’ ग्रेड ल्याएका छन् ।
त्यस्तै ३ हजार ८ सय ७५ जनाले १.२ देखि १.६ जीपीए, २ सय ९६ जनाले ०.८ देखि १.२ जीपीए प्राप्त गरेको बोर्डले जनाएको छ । ०.० देखि ०.८ जीपीए ल्याउने विद्यार्थीको संख्या १० हजार ७३ जना रहेको छ । ग्रेडवृद्धितर्फ २८ हजार ४ सय ६६ परीक्षार्थी सम्मिलित थिए । आंशिकमा ६ हजार ८ सय ६१ जनाले परीक्षा दिएका हुन् । उनीहरुको पनि नतिजा सार्वजनिक गरिएको छ । कुल परीक्षार्थीमध्ये ४६ जनालाई मर्यादाविपरीत कार्य गरेकोले निष्काशित गरिएको बोर्डले जनाएको छ । ४ जना नक्कली परीक्षार्थी र २ जना टिकटक बनाउनेलाई पनि कारवाही गरिएको छ । टिकटक बनाउने परीक्षा केन्द्रका केन्द्राध्यक्ष र निरीक्षकलाई कारवाहीसहित थप विभागीय कारवाहीका लागि शिक्षा मन्त्रालयमा सिफारिस गरिएको छ । एनईबी लेखेर एक स्पेस दिई सिम्बोल नम्बर लेखेर १६००मा एसएमएस गरेर नतिजा थाहा पाउन सकिन्छ । त्यस्तै आईभीआर १६०१ मा फोन गरेर पनि नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ ।