Shittalpati
आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदै

पाल्पा, आज ३० औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विश्वभरि विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष डिसेम्बर– ३ का दिन मनाइने अन्तर्राष्ट्रिय अपाङ्गता दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक तथा सिर्जनात्मक कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्र संघले सन् १९८१ देखि अपाङ्गता भएका व्यक्तिहरुको हक, हित र अधिकार प्राप्तिका लागि अन्तर्राष्ट्रिय रुपमै अपाङ्ग दिवस मनाउँदै आइरहेको सन्दर्भमा ३ डिसेम्बर १९९२ देखि नेपालले पनि उक्त दिवस मनाउँदै आएको छ । २०६८ सालको जनगणना अनुसार नेपालमा अपाङ्गता भएका व्यक्तिहरुको संख्या साँढे पाँच लाख छ । विश्व स्वास्थ्य संगठन र विश्व बैंकद्वारा सन् २०११ मा प्रकाशित पछिल्लो अपाङ्गता सम्बन्धी विश्व प्रतिवेदनानुसार संसारमा कुल जनसंख्याको १५ प्रतिशत मानिस कुनै न कुनै रूपमा अपा·ताको अवस्थामा बाँचिरहेका छन् । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले जनाए अनुसार अपाङ्गता भएका व्यक्ति ८० प्रतिशत विकासोन्मुख देशमा रहेका छन् । नेपालमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय अपाङ्ग महासंघले आज विभिन्न कार्यक्रम गर्दैछन् । अपाङ्गता भएका व्यक्तिहरुले गरेको सकारात्मक र उपलब्धिमूलक कथाहरुलाई पनि आज विश्व समूदायले विभिन्न माध्यम मार्फत् अवलोकन र श्रवण गर्ने गर्दछन् भने अर्कोतर्फ अपाङ्गमैत्री समाज अनि संरचनाका लागि पैरवी पनि गरिन्छ । हरेक सरकार अनि संगठनहरुले अपाङ्गता भएकाहरूलाई प्राथमिकतामा राख्ने अनि समान वातावरण दिने प्रतिवद्धता राखेका हुन्छन् र आज त्यो वाचा गरेका कुराहरू उपलब्धिका रूपमा कति प्राप्त भए वा भएनन भन्ने समिक्षा पनि आजको दिन गर्ने गरिन्छ । समावेशी र समान समाजको परिकल्पना नै आजको टड्कारो आवश्यक्ता हो । नेपाल सरकार लगायत विभिन्न सरकारी र गैर सरकारी संस्थाहरुले अपाङ्गताका लागि धेरै परियोजना कानुनतः पैरवीहरु गरिरहेका छन् । अपाङ्गता विभिन्न किसिमको हुन्छ र हरेक प्रकारका अपाङ्गताका लागि विशेष प्रविधि र व्यवस्था जरुरी हुन्छ, सबैको ध्यान यसतर्फ पुग्न जरुरी छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १७, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update