Shittalpati
बगनासकालीमा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई निरन्तरता

पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई निरन्तरता दिएको छ । विगतका वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सयौैंलाई रोजगार प्रदान गरिसकेको गाउँपालिकाले यस वर्ष पनि उक्त कार्यक्रमलाई निरन्तरता दिएको हो ।

गाउँपालिकाले यस चालु आर्थिक वर्षको यो कार्यक्रमको शुभारम्भ वडा नं १ बाट गरेको छ । कार्यक्रमको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्याल र प्रमुख प्रशासकिय अधिकृत विष्णु घर्तीले संयुक्त रुपमा बाटो खनेर शुभारम्भ गरेका हन् । ‘कर्मशील जनशक्ति बगनासकालीको सम्पत्ति भन्ने नाराका साथ गाउँपालिकाले उक्त कार्यक्रमलाई निरन्तरता दिएको हो । कार्यक्रमको शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष बस्यालले छनोटमा परेका रोजगारमा संलग्न व्यक्तिहरूलाई बधाई तथा शुभकामना दिदै कामलाई प्रभावकारी बनाउन आग्रह गरे । उनले गाउँपालिकाको विकासका लागि उर्जाशील श्रमिकको सदुपयोग महत्वपूर्ण हुने भन्दै पालिकाले विगतदेखि नै श्रमप्रतिको उच्च सम्मान गर्दै आएको धारणा व्यक्त गरे । अध्यक्ष बस्यालले स्थानीय स्तरमै कम्तीमा पनि सय दिनको रोजगारी दिने गरी गाउँपालिकाले काम गरेको बताए । १ का वडा अध्यक्ष सोमबहादुर झेंडीले गुनासो नआउने गरी कामलाई व्यवस्थित गर्न सुझाव दिएका छन् । उनले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक योजना अन्तर्गत वडा नं. १ मा २ वटा योजना रहेको बताए । वडा नं १ मा ११ जनाले उक्त कार्यक्रममार्फत तत्काल रोजगारी पाएको रोजगार संयोजक सरिता पाण्डेले बताईन् । रोजगार शाखाका प्रविधिक पुरुषोत्तम न्यौपानले वडा नं. १ पहिलो चरणमा ४१ दिनको नाली निर्माणको काम सकिएपछि ५९ दिनको अर्को योजनाको काम थालिने बताए । उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सरस्वती चिदी, प्रमुख प्रशासकीय अधिकृत विष्ण घर्ती, गाउँपालिकाका विभिन्न शाखाका कर्मचारी रोजगारमा संलग्न व्यक्तिहरूको सहभागिता रहेको थियो । यहाँ गाउँपालिका १ को गाबटुङ्गदेखि नायरसम्म जाने मोटरबाटोको नाली निर्माण योजनाको थालनीसँगै रोजगार कार्यक्रमको शुभारम्भ गरिएको हो ।

संघ, प्रदेश र स्थानीय तहको समन्वयमा स्थानीयस्तरमै रोजगार सिर्जना गर्ने गरी २०७५ मा नेपाल सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको थियो । बेरोजगारी र गरिबीको समस्या सम्बोधन गर्न सरकारले यो कार्यक्रम ल्याएको हो । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन गर्न प्रत्येक स्थानीय तहमा रोजगार संयोजक तोकेको छ । प्रत्येक स्थानीय तहमा अहिले रोजगार संयोजकमार्फत कार्यक्रम सञ्चालन भइरहेका छन् । सरकारले न्यूनतम एक सय दिनका लागि रोजगारी ग्यारेन्टी गर्नेगरी प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको हो । जिल्लाका अन्य स्थानीय सरकारहरुले पनि श्रमप्रति सम्मान गर्दै कम्तीमा न्यूनतम रोजगारको ग्यारेन्टी गर्नेगरी प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर १६, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update