
हाम्रा संवाददाता
गुल्मी, जिल्लाको रेसुङ्गा नगर सरकारले आफ्नो सेवालाई नागरिकको घरदैलोमा पुर्याएको छ । नगर सरकारले नागरिकलाई घरआगनमै स्थानीय सरकार आएको अनुभूति दिलाउन एकिकृत घुम्ती शिविरमार्फत सेवालाई घरदैलोमा पुर्याएको हो ।
नगर सरकारले वडातहमै पुगेर एकिकृत घुम्ती शिविरबाट आफ्ना सेवाहरुलाई प्रवाह गर्दै आएको छ । उसले वडा नम्वर ६ साउनेथुम निम्न माध्यमिक विद्यालयमा एकिकृत घुम्ती शिविर राखि सेवाको प्रारम्भ गरेको छ । नगर सरकारले ‘रेसुंगा नगरपालिकाको नागरिक मैत्री सेवा प्रवाहको अभियान, घुम्ती शिविरबाट बहुसेवा प्रवाह तथा गुनासो व्यवस्थापन’ भन्ने नाराका साथ एकिकृत घुम्ति शिविर सञ्चालन गरेको हो । सरकारी सेवाका लागि नगरपालिका नै जानुपर्ने बाध्यताबाट राहत मिलेको भन्दै स्थानीय उत्साहित भएका छन् । स्थानीय ७० वर्षीया मीना क्षेत्रीले भने, ‘यो बुढेसकालमा लौरो टेकेर उपचारका लागि स्वास्थ्य चौकीमा पुग्नुपथ्र्यो, तर आजभोलि घरमै आएर उपचार दिनथालेपछि सरकार घरआगनमै आएको महशसुस भएको छ ।’ उनी थप्छिन्, ‘उपचार गर्न घरमा आएका स्वास्थ्यकर्मीले सान्वना दिएर खुशी बाँडेको देखेर थप उत्साहित भएकी छु ।’
यस्तै अर्का स्थानीयवासी ७७ वर्षका नन्दबहादुर सारुले भने, ‘यसरी घरमै पुगेर यस्तो सेवा पाउँला भन्ने सोचेको थिइएन तर पछिल्लो समय यो सेवा पाउँदा सारै खुशी भएको छु ।’ उनले भने, ‘हामी जस्ता स्वास्थ्य संस्थासम्म पुग्न नसकेका जेष्ठ नागरिक बिरामीका लागि यो कार्यक्रम प्रभावकारी भएको छ ।’
शिविरमा स्वास्थ्य जाँच तथा औषधी उपचार, कोभिड खोप वितरण, आँखा जाँच, सामाजिक सुरक्षा सेवा अन्र्तगत जेष्ठ नागरिक परिचयपत्र तथा अपांग परिचयपत्र नविकरण तथा वितरण, कृषि विकासतर्फ माटो परीक्षण, बीउ विजन वितरण जस्ता सेवाहरु दिइएको नगरपालिकाले जनाएको छ । नागरिकले घरआगनमै स्थानीय सरकार आएको थप अनुभूति गर्न पाउन भनेर एकिकृत घुम्ती शिविर सञ्चालन गरिएको नगर प्रमुख डिल्लीराज भुसालले बताए । अधिकांश नागरिकले स्वास्थ्य सम्वन्धित स्थानमा गएर सेवा लिन नसक्ने अवस्था भएपछि घरदैलो कार्यक्रम थालिएको उनको भनाई छ । नगरपालिकादेखि भूगोलको हिसाबले टाढा रहेका नागरिकहरुको लागि लक्षित गर्दै नागरिक मैत्री सेवा प्रवाहको अभियान अन्तर्गत एकिकृत घुम्ति शिविर सञ्चालन गरिएको हो । रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले अहिलेको एक्काइसौं शताब्दीमा नागरिक सेवा खोज्दै कार्यालयमा जाने भन्दा पनि कार्यालय नै सेवाग्रहीको घरदैलोमा उपस्थित भएर सेवा दिनुपर्ने बताए । सोही मर्म अनुसार रेसुङ्गा नगरपालिकाले वडातहमै पुगेर एकिकृत घुम्ति शिविरबाट बहुसेवा प्रवाह गरेको उनले बताए । एकिकृत घुम्ति शिविरबाट अहिलेसम्म २ सय जनाको स्वास्थ्य परीक्षण गरिएको छ, भने निःशुल्क औषधी समेत वितरण गरिएको छ । यस्तै २ सय ९६ जनाको आँखा परीक्षण गरिएको छ । जसमा १० जनाको तत्काल नै अप्रेसन गर्नुपर्ने देखिएको छ । माटो परीक्षणका लागि १ सय ५५ जना कृषिकहरुले ल्याएको माटो संकलन गरिएको छ । १सय ५ जना कृषकहरुलाई पशुहरुको औषधी वितरण गरिएको छ । ४० भन्दा बढी जेष्ठ नागरिक परिचयपत्र तथा ७ वटा अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । – अनिल खत्री