Shittalpati
४० लाख ५० हजार राशिको रम्भादेवी छात्रवृत्ति

पाल्पा, मातृसेवा प्रतिष्ठान नेपाल ललितपुरद्वारा स्थापित ४० लाख ५० हजार राशिको रम्भादेवी छात्रवृत्ति वितरण गरिएको छ । पाल्पाली समाज पोखराको व्यवस्थापनमा जिल्लाको तानसेनमा प्राविधिक शिक्षा अध्ययनरत ८९ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो । प्रतिष्ठानले जिल्लामा प्राविधिक शिक्षामा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ उक्त छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको थियो ।

निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डेय र मातृसेवा प्रतिठानका अध्यक्ष हरिप्रसाद पाण्डेले संयुक्तरुपमा विद्यार्थीलाई छात्रवृत्तिको रकम हस्तान्तरण गरेका हुन । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाका ८१ वडाकै प्राविधिक शिक्षा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने योजना थियो ।

निस्दी गाउँपालिकामा आठ, रामपुर नगरपालिकामा ११, पूर्वखोलामा छ, माथागढी गाउँपालिकामा आठ, रम्भा गाउँपालिकामा पाँच, तिनाउ गाउँपालिकामा पाँच, बगनासकाली गाउँपालिकामा १२, तानसेन नगरपालिकामा १७, रिब्दीकोट गाउँपालिकामा ११ र रैनादेवी छहरा गाउँपालिकामा आठ जनालाई छात्रवृत्ति हस्तान्तरण गरिएको छ । एक वडामा अधिकतमा ५० हजारसम्मको छात्रवृत्ति रकम प्रदान गरिएको थियो ।

५० हजारभन्दा कम शुल्कमा पठनपाठन हुने विषयका विद्यार्थीले दुई जनासम्मलाई छात्रवृत्ति प्रदान गरिएको मातृसेवा प्रतिष्ठानका अध्यक्ष हरिप्रसाद पाण्डेयले बताए । रम्भादेवी छात्रवृत्ति विदेशीको सहयोगविना र आफ्नै पारिवारिक सहयोगमा स्थापना गरिएको उनले जानकारी दिए । रासस –––

प्रकाशित मिति: आइतबार, फागुन २५, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update