
रामचन्द्र रायमाझी
पाल्पा, खानेपानीको समस्या झेलिरहेको पूर्वखोला गाउँपालिका ५ विरकोट वलङदीका सबै घरमा खानेपानीका धारा जडान गरिएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको आर्थिक तथा प्राविधीक सहयोग र स्थानीय बासिन्दाको व्यवस्थापनमा वलङदीका एक सय पन्ध्र घरमा धारा जडान भएपछि स्थानीय दङ्ग परेका छन् । एक गाग्री पानीका लागि दैनिक घण्टौंसम्म समय खेर फाल्नुपर्ने बाध्यता रहेको स्थानीयवासीलाई अहिले घरको आँगानमै लिफ्टिङ्ग मार्फत स्वच्छ पिउने पानी आएपछि सपना जस्तै लाग्न थालेको छ । आँगनमा खानेपानीको धारा आउला भनेर कल्पना समेत नगरेका ७६ वर्षीय सन्तवीर सिंजालीलाई आजभोलि सपना जस्तै लागेको छ ।
लामो समयसम्म पानीको समस्या समधान हुन नसकेको र जीवनको अन्तिम घडीमा आउँदा आँगनमै पानीको धारा खस्दा आफुलाई सपनाजस्तै लागेको सिँजाली बताउँछन् । उनी भन्छन् ‘यसरी पानी आउला भन्ने कल्पना समेत गरेको थिएन, अहिले पानी आयो अब सबै समस्या समधान हुने भयो ।’ डाँडामा बस्ती भएका कारण यस क्षेत्रका स्थानीयले पानीको चरम समस्या भोग्नु परेको थियो । एक गाग्री पानीको लागि मध्यरातमा घण्टौ हिडेर डाँडाभन्दा तल पुगेर पानी ल्याउनुपर्ने बाध्यता यहाँका स्थानीयको रहेको थियो ।
आँगनमा खानेपानीको धारा आउला भन्ने कल्पना समेत गरेका थिएनौं, अहिले धारामा पानी आएसँगै मध्यरातमा पानी ल्याउनुपर्ने बाध्यता टरेर गएको स्थानीय बलीसरा गाहाले बताइन् । गाउँमै खानेपानीको अभाव हटेपछि मेलापात गर्न समेत सजिलो हुन थालेको स्थानीय शान्ति सिंजालीको भनाइ छ । ‘पानी लिनका लागि घण्टौं कुर्नुपर्दा बालबालिकालाई विद्यालय पठाउन, मेलापात गर्नसमेत गाह्रो भएको थियो’, उनले भनिन्, ‘अहिले समयको पनि बचत भएको छ, बिहान घरधन्दा गरेर मेलापात गर्न पनि सजिलो हुन थालेको छ ।’
‘धारामा पानी लिन एक घण्टासम्म लाइन बस्दा पनि पानी नपाएर रित्तै गाग्री लिएरसमेत फर्कनु पथ्र्यो, पानीको अभाव हँुदा कहिले त गाउँ नै छोडर जाउँ जस्तो पनि लाग्थ्यो, अहिले घरमै पानी आएपछि गाउँ नै स्वर्गजस्तो लाग्न थालेको छ’ सिंजालीले भनिन् । पानीको समस्याका कारण स्थानीयले गाउँ छोड्न समेत लागेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष वीरबहादुर सिंजालीले बताए । उनले भने ‘अहिले भने सबैका घर घरमा पानी आएपछि भने त्यस्तो अवस्था नरहेको बरु बाहिर गएकाहरु गाउँ फर्कन थालेका छन् ।’ सबैको घर–घरमा खानेपानीको व्यवस्थापन भएपछि खानेपानीको सुविधा मात्र नभई व्यक्तिगत सरसफाईको क्षेत्रमा समेत परिवर्तन आएको छ ।
खानेपानी कार्यालयले योजना निर्माण गरेपछि सबैका घरमा पक्की सौचालय समेत निर्माण भएका छन् । पानीको अभावमा सरसफाई सम्भव नरहेकाले प्रत्येकको घर घरमा खानेपानी लैजाने लक्ष्य अनुरुप खानेपानी कार्यालयले कार्यक्रमहरु अगाडि बढाएको खानेपानी तथा सरसफाई कार्यालयका प्रमुख शिवकुमार श्रेष्ठले बताए । उनले भने ‘सरसफाई अभियानलाई साथर्क पार्न एक घर एक धारा अभियानलाई कार्यक्रम तथा योजनाका रुपमा अगाडि बढाएका छौं ।’ यस क्षेत्रमा योजना सञ्चालन गर्नु अघि सरसफाईको अवस्था निकै नै नाजु रहेको र अहिले भने सरसफाईमा धेरै सुधार आएको खानेपानी कार्यालयका प्राविधिक शोभाखर अधिकारीले बताए ।
लिफ्टिङ्ग खानेपानी योजनाका लागि संघीय सरकारको ९३ लाख ३६ हजार, स्थानीय उपभोक्ताको २३ लाख ५० हजार गरी ११ करोड १६ लाख ८६ हजार रुपैयाँ लागत लागेको खानेपानी तथा सरसफाई कार्यालयका इन्जिनियर तथा सूचना अधिकारी मात्रिका गौतमले जानकारी दिए । योजनाबाट १ सय १५ घर परिवारका ८ सय भन्दा बढी जनसंख्या प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।