
पाल्पा, आजदेखि राष्ट्रिय जनगणनाको कार्य सुरु भएको छ । १२ औँ शृङ्खलाको मुख्य गणनाकार्य बिहीबारदेखि सुरु हुन लागेको हो । यो गणना आगामी मङ्सिर ९ गतेसम्म जारी रहने र यसका लागि पाल्पा, गुल्मी सहित देशभर नै सम्पूर्ण तयारी पूरा भएको केन्द्रीय तथ्याड्ढ विभागले जनाएको छ ।
जनगणनाको पहिलो चरणमा घर तथा घरपरिवार सूचीकरण यसअघि नै भइसकेको छ । सूचीकृत भइसकेका र कुनै कारणले छुटेकासमेत सबै परिवारमा गणक पुगी १५ दिनभित्र सबै व्यक्तिको विस्तृत विवरण संकलन गर्न करिब ४० हजार गणक र आठ हजार ५ सय सुपरीवेक्षक देशभर परिचालन गरिएको छ । गणनाका लागि पाल्पामा ३ सय ७८ जना गणक र ९४ जना सुपरिवेक्षक खटिने छन् । तानसेन, रामपुर, छहरा र ताहुँमा कार्यालय स्थापना गरि काम थालिएको जिल्ला जनगणना कार्यालय पाल्पाले जनाएको छ । यस्तै गुल्मीमा पनि गणन कार्यका लागि ३ सय ९३ वडा र संस्थागत परिवारको गणनाको लागि ३ जना गरी ४ सय १२ जना गणक र १ सय १ सुपरिवेक्षकहरु खटाइएको छ ।
जनगणना सफल बनाउन केन्द्रदेखि वडा तहसम्म विभिन्न जनगणना समन्वय तथा सहजीकरण समिति गठन गरिएको छ । जनगणना सञ्चालन गर्न सात प्रदेशमा जनगणना कार्यालयसहित ८७ जिल्ला जनगणना कार्यालय र त्यसअन्र्तगत ३ सय ४९ स्थानीय जनगणना कार्यालय स्थापना भएका छन् । जनगणनाको फाराममा ८० वटा प्रश्नावली रहेका छन् । एक परिवारलाई प्रश्नावली भर्नाका लागि औसतमा २० मिनेट समय लाग्ने बताइएको छ । यस क्रममा देशभरका छ हजार ७ सय ४३ वडाबाट आधारभूत आर्थिक, सामाजिक, सेवा, सुविधा, पूर्वाधार र विपद् अवस्थाको समेत जानकारी संकलन गरी सामुदायिक प्रश्नावली भरिने र यसबाट सम्पूर्ण वडाको वास्तविक जानकारी पाउन सकिने जनाइएको छ ।