Shittalpati
देशभर चिसो बढ्यो

काठमाडौँ, काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ । बुधबार काठमाडौँको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री मापन गरिएको थियो । जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु बासीका अनुसार देशभर चिसो बढ्दै जाने क्रममा रहेको छ ।

दिनभर घाम लागे पनि बिहानबेलुका जाडो बढेको महसुस भएको छ । ‘तत्काललाई पानी पर्ने सम्भावना रहेको छैन’, उनले भनिन् । वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको बताइएको छ । महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम सुरु हुन्छ । हाल देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सफा रहेको छ । प्रदेश नं १ वाग्मती र गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार बुधबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २४ दशमलव शून्य डिग्री सेल्सियस रहेको थियो । त्यस्तै सबै भन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव शून्य डिग्री र सबै भन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३१ दशमलव पाँच डिग्री सेल्सियस रहेको थियो । –रासस

प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update