
रामचन्द्र रायमाझी
पाल्पा, पेशा, व्यवसाय, रोजगार र अध्ययनको शिलशिलामा गुल्मीबाट पाल्पामा बसोवास गर्दै आएका गुल्मेलीहरुको मिलन भएको छ । २०७२ सालमा स्थापना भएको गुल्मेली संगम पाल्पाले बुधबार पाल्पाको तानसेनमा गुल्मेलीहरुको मिलन गराएको हो । गुल्मेलीहरु बिच आपसी सम्बन्ध र आत्मीयता कायम गराउने उद्देश्यले संगमले हरेक वर्ष विभिन्न क्षेत्रमा आवद्ध गुल्मेलीहरुलाई मिलन गराउदै आएको छ ।
गत वर्ष कोरोना महामारीका कारण भेटघाट कार्यक्रम गर्न नसके पनि संगमले यस वर्ष भने गुल्मेली दाजुभाई, दिदीबहिनीहरु बिच भेटघाट गरी आत्मीयता साट्ने अवसर सिर्जना गरेको हो । गुल्मीबाट पाल्पामा बसोवास गर्दै आएका व्यक्तिहरु बिचको आत्मीयता, सद्भाव र सम्बन्धलाई थप नजिक बनाउने गरी गुल्मेली संगम पाल्पाले हरेक वर्ष चाडपर्वको पूर्व सन्ध्यामा भेटघाट तथा मिलन कार्यक्रम गर्दै आएको संगमका अध्यक्ष भेषराज सुवेदीले बताए । उनले गत वर्ष कोभिडका कारण भेटघाट कार्यक्रम गर्न नसकिएको भन्दै यस वर्ष ढिलै भए पनि कार्यक्रम गर्न सफल भएको बताए । आगामी दिनमा संगमलाई थप सशक्त र रचनानात्मक ढंगले अगाडि बढाउन सम्पूर्ण गुल्मेली दाजुभाइ, दिदीबहीनीहरुको साथ आवश्यक रहेको अध्यक्ष सुवेदीको भनाई छ । उनले संगम स्वयंसेवी संस्था भएकाले आर्थिक रुपमा सक्षम भए मात्र संगमलाई थप विस्तार र मजबुदर बनाएर लैजान सकिने भएकाले त्यस तर्फ सबैले ध्यान दिनुपर्नेमा जोड दिए । जिल्ला समन्वय समिति पाल्पाकी कार्यवाहक सभापति मीरा मरासीनीले संगमले जिल्लावासीहरुलाई एक शुत्रमा बाध्ने काम गरेकोमा खुसी व्यक्त गरिन् । उनले हरेक वर्षमा गरिने मिलन कार्यक्रमलाई अझ छोट्याएर छिटो –छिटो आयोजना गर्न सके सम्बन्धलाई थप सुदृढीकरण गर्न सकिने धारणा व्यक्त गरिन् ।
कार्यक्रममा जिल्ला अदालत पाल्पाका जिल्ला न्यायधिश खड्का बहादुर केसीले आपसी सद्भाव र माया दर्शाउने कार्यमा भेटघाट कार्यक्रमले महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले क्षेत्रअधिकारको सिमितताले गर्दा केही असहज वातावरण सिर्जना हुने भए पनि आपसी सद्भाव र भाइचारको सम्बन्ध सुदृढ बनाउने कार्यमा आफु सधै तयार रहेको बताए । पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले गुल्मीबाट आई पाल्पामा छरिएर रहेका गुल्मेलीहरुलाई एक ठाउँमा ल्याएर भेटघाट गराउन पहल गर्ने संगमको कार्य प्रशंसनिय रहेको बताए । उनले संगमलाई राजनीतिक आस्था भन्दा माथि उठेर संस्थालाई जीवन्त राख्न आग्रह गरे । सहायक प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले संगमले आयोजन गरेको कार्यक्रम आफैमा प्रशंसनिय रहेको बताए । पाल्पामा संगम गठन गर्न उत्प्रेरित गर्ने विष्णु घर्ती भनभनेलीले संस्थालाई सिर्जनशिल र सक्रिय बनाउन सबै गुल्मेलीहरुलाई आग्रह गरे । जन्मभूमि प्रतिको मायाले ओतप्रोत भएका गुल्मेली दाजुभाइ, दिदीबहीनीहरु एक ठाउँमा भेटघाट गर्न पाउँदा अत्यन्त उत्साहित भएका थिए । उनीहरुले संगमलाई जीवन्त र सक्रिय बनाएर लैजान आफुहरु लागि पर्ने बताएका छन् । कार्यक्रम संगमका अध्यक्ष भेषराज सुवेदीको अध्यक्षता, उपाध्यक्ष पूण्यप्रसाद सुवेदीको सञ्चालनमा भएको थियो ।