
गुल्मी, जिल्लामा पहिलो पटक जिल्लास्तरीय स्क्रयाबल प्रतियोगिता भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका ८ मा रहेको सिद्धबाबा माध्यमिक विद्यालयको आयोजनामा स्क्र्याबल प्रतियोगिता भएको हो । जिल्लाका विभिन्न १३ वटा विद्यालयका २६ जना विद्यार्थीहरुको सहभागितामा उक्त कार्यक्रम भएको हो ।
प्रतियोगितामा सिद्धबाबा माध्यमिक विद्यालयका प्रेमकुमार टण्डन प्रथम, महेन्द्र नमुना मा.वि.का रोविन पाध्यवती द्वितीय, अर्जुन बोर्डिङ्ग स्कुलका दिवस अर्याल तृत्तिय र सिद्धबाबा मा.वि.का सरोज पाण्डे सान्त्वना भएका छन् ।
प्रतियोगितमा प्रथमदेखि सान्त्वना स्थान हासिल गर्ने ४ जना र पाँचौ र छैटौं स्थान हासिल गर्ने क्रमशः अनिस अर्याल, गण्डकी बोर्डिङ्ग स्कुल र चन्द्रकला अर्याल भगवती मा.वि. सिमिचौर गरी ६ जना यही मंसिर ३ र ४ गते तनहुँ जिल्लामा सञ्चालन हुने राष्ट्रिय स्क्र्याबल च्याम्पियनशिपमा सहभागी हुने छन् । प्रतियोगिताका विजयी तथा सहभागीहरुलाई कार्यक्रमका अध्यक्ष तथा अतिथिहरुले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए । क्लब जिल्ला संयोजक एवं सिद्धबाबा माध्यमिक विद्यालयका प्रधानाध्यापक डोर विक्रम श्रीसको अध्यक्षता, शिक्षा विकास तथा समन्वय इकाइ, गुल्मीका प्रमुख लोकनाथ मरासिनीको प्रमुख आतिथ्य र शाखा अधिकृत अमरबहादुर के.सी.को विशिष्ट आतिथ्यता, सिद्धबाबा माध्यमिक विद्यालयका शिक्षक टीका खड्काको सञ्चालनमा कार्यक्रम भएको थियो ।