.jpg)
हाम्रा संवाददाता
गुल्मी, जिल्लाको पर्यटकीय स्थल रेसुङ्गा क्षेत्रमा रहेको गर्जुरामा पर्यटन पार्क बन्न लागेको छ । रेसुङ्गा नगरपालिकामा पर्यटकलाई लोभ्याउन यहाँ पर्यटन पार्क बन्न लागेको हो । पर्यटनको प्रचुर सम्भावना रहेको गर्जुरालाई थप व्यवस्थित र पर्यटकको मुख्य गन्तव्य बनाउन नगरपालिकाले पार्क निर्माण थालेको छ । यहाँ घुम्न आएका पर्यटकलाई केही दिन अलमल्याउन र सिंगो नगरको पर्यटन क्षेत्रको विकासका लागि पार्क निर्माणलाई प्राथमिकता दिइएको नगरपालिकाले जनाएको छ । पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम संस्कृत, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र रेसङ्गा नगरपालिका साझेदारीमा पर्यटकीय पार्क बन्न लागेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताए ।
पार्कको नगरप्रमुख डिल्लीराज भुसालले एक कार्यक्रमका बिच शिलान्यास समेत गरेका छन् । पार्क निर्माणको लागि नागरिक उड्यन मन्त्रालयको ७० प्रतिशत र नगरपालिकाको ३० प्रतिशत लगानी रहेको छ । पार्क निर्माण गर्नका लागि ७ करोडको लागत स्टेमेटमा ठेक्का गरिएको थियो । पर्यटकीय पार्कको धुलिखेल, अर्जुन न्यू लिला जेभि तम्घास गुल्मीले निर्माणको जिम्मा लिएको छ । पार्कको ५ करोड ५९ लाख ५३ हजार ५ सय १ रुपैयाँको लागतमा २०७९ साल फागुन ३० गतेसम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत मरासिनीले बताए । जंगल क्षेत्रमा निर्माण हुन लागेको पर्यटकीय पार्कमा जैविक उपायोगितालाई क्षति नगरिकन काम अगाडि बढाइने भएको मरासिनीले बताए । नगरप्रमुख भुसालले रेसुङ्गा क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले गर्जुरामा पर्यटकीय पार्क बनाउन लागिएको बताए । उनले समयमै गुणस्तरीय काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गरेका छन् । निर्माण व्यवसायीले कुनै पनि बाहानामा आलटाल गर्न नमिल्ने नगर प्रमुख भूषालले बताए । पर्यटकीय पार्क तम्घास आउने मानिसका लागि आनन्द लिने स्थल बन्ने उनको भनाई छ । पार्क क्षेत्र ३ दशमलव ९६ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।
पार्क भित्र भ्यूउटावर, भिरमा पिङ्ग, पाँचवटा पिकनिक ट्रस, फोटो ग्राफी जोन, बच्चा बच्चीको लागि प्लेजोन, पिकनिक स्पोर्ट, भलिवल र व्याडमिण्टन मैदान, बिचबिचमा पैदलमार्ग, शौचालय, टिकट काउन्टर, विभिन्न जनावरका आकृति, फोहोर मैला फाल्ने डसबिन, पार्किङ्ग, निर्माण गरिने रेसङ्गा नगरपालिकाका इन्जिनियर कृष्ण कोइरालाले बताए । वन क्षेत्र रहेकाले कुनै पनि विवाद नभएमा तोकिएको काम समयमै सम्पन्न गर्ने निर्माण व्यवसायी चुरा भण्डारीले बताए । उनले काम सम्पन्न गर्न सबैको सहयोगको आवश्यकता रहेको बताए । सोहि स्थानमा दोश्रो चरणमा सुइमिङ्ग पुल र जनवार उद्धार पनि निर्माण गरिने भएको छ ।