Shittalpati
गुल्मीदरबारमा महिलालाई अचार बनाउने तालिम

गुल्मी, जिल्लाको गुल्मीदरबार गाउँपालिकाले महिलाहरुलाई अचार बनाउने तालिम दिएको छ । गाउँपालिकाले महिलालाई उद्यमी बनाएर आत्मनिर्भर बनाउने उद्देश्यले ७ दिने अचार बनाउने तालिम दिएको हो । गाउँपालिका भित्रका २५ जना महिलालाई गाउँपलिकाको १ लाख आर्थिक सहयोग र ए फोर ट्रेनिङ सेन्टर रुपन्देहीको व्यवस्थापन सहयोगमा अचार बनाउने तालिम दिएको गाउँपालिकाले जनाएको छ ।

सिपमूलक तालिमले आफुहरुलाई आयआर्जनमा थप टेवा पुर्‍याउने तालिममा सहभागीहरुले बताएका छन् । तालिममा सहभागी मिना पुनले केही वर्ष अगाडि विदेश गएर आफूले भोगेको नमिठो अनुभव सुनाइन् । यस्तो तालिम आफुले पहिले पाएको भएमा विदेश जान नपर्ने उनले बताइन् । अब गाउँपालिकाले अचार बनाउने तालिम दिएकाले आफू व्यवसायिक रुपमा लागेर उद्यमी बन्ने प्रतिज्ञा उनले गरिन् । त्यस्तै तालिममा सहभागी अर्की सरस्वती गौतमले तालिम पहिले गरिएको भएपनि यो तालिममा सक्रिय भएर सिकेको बताइन् । ७ दिने तालिमले अब आफू आत्मनिर्भर हुने आशा जागेको उनले बताइन् । अन्य प्रकारका तालिम पनि गाउँपालिकाले आयोजना गर्नुपर्ने उनले बताएकी छन् ।

त्यस्तै तालिममा सहभागी अर्की महिला निशा पौडेलले आफू अब अचार बनाएर जीविकोपार्जन गर्न लाग्ने भन्दै आफू आफैमा आत्मनिर्भर बन्न सक्ने बनाइन् । यस्तो तालिम लिन आफूले अवसर पाएकोमा उनले गाउँपालिकाको प्रशंसा समेत गरिन् । तालिममा २५ जना महिलाको सहभागीता रहेको थियो ।

तालिममा प्रशिक्षक समेत रहेकी भगवती बस्यालले व्यवसायिक रुपमा निरन्तरता दिन तालिम लिन सबैलाई आग्रह गरिन् । घर वरपर हुने विभिन्न फलफूल, तरकारीहरुलाई अचारको रुपमा राखेर बर्षदिन सम्म प्रयोग गर्न सकिने उनले बताइन् । ट्रेनिङ सेन्टरकी प्रवन्ध निर्देशक हेमा बेल्बासेले सीप सिकेर सबै आत्मनिर्भर बन्नुपर्नेमा जोड दिइन् । तालिमले महिला उद्यमी बन्न सफल हुने उनले बताइन् । सीप सिकेर श्रीमान् र श्रीमती दुवैले केही गरेमा घरमा घरायसी झगडा पनि नहुने उनले बताइन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले महिलालाई आत्मनिर्भर बनाउन विभिन्न तालिमहरु दिएको बताए । यसअघि डोजर अपरेटर तालिम समेत गाउँपालिकाले दिएको उनले बताए । सानो लगानीले महिला उद्यमी बन्ने भएकाले यस्तो तालिमको आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत पाण्डेको भनाइ छ । महिलाहरु अचार बनाएर उद्यमी बन्न चाहिने आवश्यक पूर्वाधारमा पनि गाउँपालिकाले सहयोग गर्ने उनले प्रतिवद्धता जाहेर गरे ।

गाउँपालिकाको चिनारीका साथ अचारलाई व्यवसायिकरण गर्न समेत उनले तालिम लिएकाहरुलाई आग्रह गरे । सहभागी सबैलाई गाउँपालिकाले प्रमाणपत्र हस्तान्तरण गरेको छ । प्रमुख अतिथि गुल्मीदरबार गाउँपालिकाका कार्यावाहक अध्यक्ष तथा उपाध्यक्ष मिना भण्डारीले सीप सिकेर सबै महिला आत्मनिर्भर बन्न आग्रह गरिन् । गुल्मीदरबार गाउँपालिकाको चिनारीका साथ तम्घास, बुटवल, भैरहवा र काठमाडौसम्म अचार पुर्‍याएर गाउँपालिकाको उत्पादनलाई जताततै चिनाउन उनले आग्रह गरिन् । तालिम लिइसकेपछि अब व्यवसायका रुपमा अगाडि बढाउन उनले आग्रह गरिन् । सीप र शिक्षालाई महत्वका साथ दिएर व्यवसाय गर्न उनले जोड दिएकी थिइन् । गाउँपालिकामा उत्पादन हुने अकबरे खुर्सानी, लाम्चो खुर्सानी, आँप, तामा, अमला, अदुवा, लसुन, ठूलो करेला, तिते करेला, कागती, मेथि लगायतका ११ प्रकारका अचारहरु महिलाहरुले उत्पादन गर्न सिकेका छन् ।

 

प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update