संयुक्त राष्ट्रसंघले अक्टोबर ३१ लाई विश्व सहरीकरण दिवस मनाउने निर्णय गरेअनुसार नेपालले पनि हरेक वर्ष यो दिवस र यससँग सम्बन्धित विविध गतिविधि गर्दै आएको छ । साधारणतया ग्रामीण र सहरी भनेर मानिसले बसोवास गर्ने क्षेत्रलाई विभाजन गर्ने प्रचलन छ । तुलनात्मक रूपमा भौतिक सुविधा प्राप्त हुने क्षेत्र सहर हो भने त्यसको विहीनता ग्रामीण क्षेत्र हो । सुरुमा सारा विश्व गाउँ थियो भने अहिले विश्वको सहरीकरण हुँदैछ । सहरीकरण बढ्दो भए पनि व्यवस्थित हुन भने सकेको छैन । यो अत्यन्त दुखद् हो । ग्रामिण परिवेशबाट बाहिर निस्की रहेको विश्वले अब भने गम्भीर भएर सोच्नै पर्ने भएको छ । कार्वन उत्सर्जनले विकराल रुप लिइ रहेको समयमा जलवायु परिवर्तनका साथै जीव चक्रमा पनि नकरात्मक असर पर्दै गएको छ । ग्रामिण परिवेशहरु एकादेशको कथा जस्तै बन्न थालेको वर्तमान अवस्थामा अव्यवस्थित सहरीकरणले पनि निकै नै समस्या सिर्जना गरेकै छ ।
सहरलाई व्यवस्थित गर्ने साेंचका साथ हरेक वर्षको अक्टुबर ३१ को दिन विश्वभरी सहरीकरण दिवस मनाइन्छ । दिवस मनाइने गरिए पनि व्यवस्थित सहरीकरण भने हुन सकेको छैन । सहर भन्ने बित्तिकै सबैको अनुमानमा सुविधा सम्पन्न संसार रहेको हुन्छ । तर जति सोचिएको छ ग्रामिण समूदायले सहरको बारेमा त्यस्तो भने हुन सकेको छैन । सहरीकरण भन्नाले एक स्मार्ट र हरियो शहर बनाउने भन्ने मात्र पनि हैन, यो त सांस्कृतिक, सामाजिक, आर्थिक र राजनैतिक जगतको स्थापना गर्नु पनि हो । ठूला शहरहरुमा जे जति सुविधाहरुको अपेक्षा गरिएको हुन्छ त्यस्तो हुन नसकि रहेको अवस्थामा सहरीकरण र त्यस्ता सहरमा बढेको औद्योगिकरणको मारमा पशुपंक्षी र मानिसहरु नै परेको सबैलाई थाहा छ । तर पनि जसरी जुन तबरले व्यवस्थित बन्न पर्ने थियो सहर त्यो हुन नसक्नु दुःखद् हो । सहरी जीवनमा आवश्यक पर्ने न्यूनतम सेवा सुविधा अधिकांश सहरमा पुगेको छैन । जसले गर्दा अधिकांश सहर व्यवस्थित हुन नसकेका हुन् । सहर आफैँमा अवसरको केन्द्र हुनुपर्छ । सहर जाने भनेको रोजगारी र अवसरको लागि हो । जहाँ आय आर्जन बढाउने र जीवनयापन सहज गर्ने उपाय होस् । तर, नेपालका कुनै पनि सहरमा रोजगारी बढाउने, अवसर सिर्जना गर्ने, जीवनयापन सहज बनाउने स्थान भनेर पहिचान गराउने आधार बनाउन सकिएको छैन । विश्व सहरीकरण दिवसले विश्वव्यापी सहरीकरणको अवसरहरू भेट्न, सहरीकरणको चुनौतिहरुलाई सम्बोधन गर्न, देश र सहरहरु बीचको सहयोग बढाउन र सहरी विकासको लागि योगदान पु¥याउन सके सार्थकता पाउन सक्थ्यो । त्यसैले सबैले व्यवस्थित सहरीकरणतर्फ सोच्न जरुरी छ ।