पाल्पा, जिल्लामा क्रियाशील सामाजिक संस्था लायन्स क्लव अफ पाल्पाले रक्तदान कार्यक्रम गरेको छ । बिरामीका लागि रगतको अभाव हुन नदिन क्लवले शनिबार तानसेनमा रक्तदान कार्यक्रम गरेको हो ।
क्लवले स्थापना कालदेखि नै हरेक वर्ष आयोजना गदै आएको रक्तदान कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको छ । कोरोना संक्रमणको अवस्था अझै पनि कायमै रहेका बेला क्लवले स्वास्थ्य सुरक्षा अपनाएर रक्तदान कार्यक्रम गरेको हो । युनाइटेड मिसन अस्पतालको प्राविधिक सहयोगमा क्लवले रक्तदान गरेको छ । जिल्लामा कुनै बेला पनि रगत अभावमा आम नागरिकले मृत्युवरण गर्न नपरोस् भन्ने हेतुले हरेक वर्ष विभिन्न स्वास्थ्य संस्थाहरुको प्राविधिक सहयोगमा रक्तदान गर्दै आएको क्लवका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले बताए । उनले भने‘मानविय जीवनमा रगतको महत्वपूर्ण भूमिका रहेको छ, जुनसुकै बेला मानिसमा रगत अभाव हुन सक्छ, त्यसका लागि समयमै त्यसको व्यवस्था मिलाउने कार्यमा हामी स्वास्थ्य संस्थाहरुलाई सहयोग गर्दै आएको छौं ।’
कार्यक्रममा क्लवका बोर्ड मेम्वर अर्मुन शाक्य, क्लवका पूर्व अध्यक्षहरु केदारलाल श्रेष्ठ, सुशिल प्रधान, विष्णुप्रसाद श्रेष्ठ, मधुदयाल शैजु, कलाधर पाण्डे, युनाईटेड मिसन अस्पतालका ल्याव प्रमुख सुरेन्द्र प्रसाद पौडेल, क्लवका उपाध्यक्षहरु सीता बस्नेत, कमला शर्मा, समिरमान सिंह, क्लवका सचिव कमल ज्ञवाली, कोषाध्यक्ष अजयबहादुर श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा १८ जना व्यक्तिहरुले रक्तदान गरेका थिए ।