
पाल्पा, चम्ल्याहा शिशुको थप उपचारका लागि आर्थिक सहयोग प्राप्त भएको छ । सामाजिक क्षेत्रमा क्रियाशील लायन्स क्लब अफ भैरहवा ग्रीनसिटीले युसीएम यसमा जन्मिएका चम्ल्याहा शिशुलाई आर्थिक सहयोग गरेको छ । क्लबले जिल्लाको माथागडी–१ चिदिपानीकी २४ वर्षीया सीता सार्कीको उपचारका लागि ४० हजार सहयोग गरेको हो । विपन्न सार्की परिवारलाई उपचारका लागि केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले अस्पतालमा पुगेर रकम हस्तान्तरण गरिएको क्लबका अध्यक्ष गोविन्दप्रसाद गिरीले जानकारी दिए ।
सीताले गत मंगलबार दिउँसो रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा चम्ल्याहा सन्तानलाई जन्म दिएकी थिइन् । कात्तिक ६ गते अस्पताल भर्ना भएकी उनको ४ वटा सन्तानको स्वभाविक जन्म हुन नसकेपछि शल्यक्रिया गरिएको थियो । गर्भवती महिलाको शल्यक्रिया गरेर बच्चा निकालिएको हो । उनका चम्ल्याहा बच्चा र आमाको अवस्था सामान्य रहेको छ । चार वटै शिशुहरू एक किलोभन्दा बढीका रहेका छन् । सीताको आर्थिक अवस्था कमजोर भएकाले शिशुहरुको थप उपचारका लागि विभिन्न संघसंस्था, आफन्तजनहरुबाट आर्थिक सहयोग जुट्ने क्रम जारी छ ।