Shittalpati
माथागढी सरकारले गर्‍यो मन्त्री रानालाई अभिनन्दन

पाल्पा, माथागढी गाउँ सरकारले लुम्बिनी प्रदेशका जलस्रोत सिँचाइ तथा उर्जा मन्त्री वीरबहादुर रानालाई अभिनन्दन गरेको छ । गाउँ सरकारले एक औपचारिक कार्यक्रमको आयोजना गरी मन्त्री रानालाई अभिनन्दन गरेको हो । जिल्लाका उर्जाशिल नेता मन्त्री हुनु पाल्पा र पाल्पावासीहरुका लागि गौरवको विषय रहेको भन्दै गाउँ सरकारले मन्त्री रानालाई अभिनन्दन गरेको जनाएको छ ।

अभिनन्दन कार्यक्रममा मन्त्री रानाले पाल्पावासीहरुको देनका कारण आफु यो अवस्थामा आएको भन्दै गाउँपालिकाले गरेको अभिनन्दनको आफुले कदर गर्ने बताए । उनले जनताका पक्षमा काम गर्न स्थानीय सरकारलाई आग्रह समेत गरेका छन् । स्थानीय विकास निर्माणमा प्रदेश सरकारसँग समन्वय गरेर स्थानीय सरकार अगाडि बढ्नुपर्नेमा मन्त्री रानाले जोड दिए ।

उनले लुम्बिनी प्रदेशलाई उज्यालो प्रदेशको रूपम चिनाउने अभियान प्रदेश सरकारले अगाडि सारेको भन्दै त्यो अभियानको सुरुवात पाल्पाबाटै हुने भएकाले पनि स्थानीय सरकारले त्यसमा साथ दिनुपर्ने बताए । मन्त्री रानाले कृषि विकासको आधार सिँचाइमा सुधार नारालाई आत्मसाथ गरी कृषिमा आमुल परिवर्तन गर्नका लागि मन्त्रालय अगाडि बढेको बताए । विगतका बर्षहरूमा कृषकहरू मन्त्रालय धाउनुपर्ने परिस्थिकिो अन्त्य गरी कर्मचारी नै वास्तविक कृषकहरूको घर–घरमा पुगी कृषकहरुको समस्या पहिचान गर्ने कार्यको थालनी गरिने समेत उनले जानकारी गराए । कार्यक्रममा गाउँपालिका अध्यक्ष सन्तोष कुमार थापाले कार्यालयमा पर्याप्त मात्रामा कर्मचारी नहुँदा कार्यसम्पादनमा कठिनाई भएकाले थप पहल गरिदिन मन्त्री रानालाई आग्रह गरे । थापाले माथागढी क्षेत्रमा अझै पनि केन्द्रीय प्रशारणलाईन नजोडिएकाले गाउँपालिकावासीले समस्या खेप्नु परेको बताए । अध्यक्ष थापाले गाउँपालिकामा कृषिको प्रचुर सम्भावना भएकाले प्रदेश सरकारले यसतर्फ ध्यान दिन समेत मन्त्री रानालाई आग्रह गरे । गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराईले समय छोटो भए पनि दिगो विकास निर्माणमा लाग्नुपर्ने बताईन् । कार्यक्रममा नेपाली काँग्रेस पाल्पका सचिव झपेन्द्र गहिरे, काँग्रेसका जिल्ला कोषाध्यक्ष मुक्तिराम जि.सी लगायतले आ–आफ्ना धारणा राखेका थिए । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नित्यानन्द खनालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 

प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update