तानसेन शब्द नै सांगीतिक शब्द जस्तो लाग्छ । संगीतमा यस्तो जादु हुन्छ सुनेर सबै मग्न हुन्छन् । संगीत सम्राट तानसेन त्यसबेला भारतका मुगल सम्राट अकबरका नवरत्त्न मध्येका एक प्रमुख रत्न थिए । उनलाई संगीतका जादुगर भनिन्छ । उनको आवाजमा जादु थियो । उनीमा संगीतका यति धेरै खुवीहरु थिए कि राग गाएन माध्यमबाट चित्रहरु कोर्न सक्दथे, दीप प्रज्वलन गर्न सक्दथे, पानी पार्न सक्दथे । उनले दीपक राग गाउँदा जताततै बत्ति बल्दथ्यो त तापक्रम बढ्दै जाँदा आगलागी हुने सम्भावना हुन्थ्यो रे त्यसैले उनले दीपक राग गाउँदा उनका चेलाहरु पनि सँगै बसी आगो बुझाउन राग मेघ मल्हार गाएर आगो शान्त पार्दथे रे । तानसेन हाम्रो तानसेन पनि त्यसबेला सांगीतिक तानसेन थियो । जताततै सांगीतिक माहोल थियो । एकसे एक वस्ताजहरु थिए । हरेक दिन जसो सांगीतिक कार्यक्रमहरु हुन्थ्यो । दिनभरी आफ्नो काममा व्यस्त अनि साँझ पर्न थाले पछि टोल–टोलमा सांगीतिक जमघट हुन्थ्यो । वस्ताजहरु आफ्ना प्रतिभाहरु प्रस्तुत गर्दथे । कतै शास्त्रीय गायन हुन्थ्यो त कतै भक्ति भजनहरु चलिरहन्थ्यो । हार्मोनियम, तबला, सितार, भायलिनका मधुर स्वर लहरहरुका साथै विभिन्न रागहरुमा आधारित गाएन टोलटोलमा गुञ्जिन्थ्यो ।
तानसेनको बखान हुन्थ्यो गीत गीतमा । लोक गाएक मास्टर मित्रसेनलाई रमाइलो लाग्थ्यो तानसेन
तानसेन रमाइलो डाँडा बाबु साहेब तानसेन रमाइलो डाँडा
उकाली ओहाली लड्दै पड्दै बुटौली सातकोस टाढा ।
अनि झलकमान गन्धर्वले त आफनो गाएन यसरी पोखे तानसेनलाई
“घाँसै काटी दुई खोली दोभान, हाँसी खेलि विताउँला जोवन, तानसेन घमाइलो जता निरमाया उतै रमाइलो ”
इन्द्रलाल श्रेष्ठले गाए
“मनोहर डाँडा श्रीनगर हामीलाई प्यारो लाग्ने तानसेन शहर”
पछि देउराली परिवारले गाए
“चरी गाउँछे मादलको तालैमा, घन्क्यो मादल शितलपाटीमा, माया लाउन श्रीनगर डाँडैमा ।”
हो तानसेन रमाइलो छ, घमाइलो छ माया लाउँ लाउँ जस्तै छ तानसेन तब त यी सर्जकहरुले गीत बनाएर तानसेनलाई गाए, चिनाए ।
अहिले पनि कहिले काँही अग्रज दाजुहरुले उहाँहरु भन्दा अगाडि त्यसबेलाको तानसेनको सांगीतिक माहोलको कुरा निकाल्दा मन आनन्द भएर आउँछ । अझ सुनु सुनु जस्तो लाग्छ । शायद हामी पनि त्यही माहोलमा जन्मेकोले नै होला । हो त्यसबेला तानसेनको वातावरण शास्त्रीय संगीतमय थियो । प्रत्येक घर–घरका मानिसहरुमा संगीतप्रतिको लगाव हुन्थ्यो रे । सबै नै केही न केही बजाउने या गाउने गर्दथिए रे । वास्तवमा सांगीतिक क्षेत्र अति नै व्यापक छ । यस भित्र नाचगान, गीत संगीत, नाटक, हास्य, नृत्य, श्रृंगार, आदि समावेश भएका हुन्छन् । त्यसैले त तानसेनमा नाचगान, नाटक सबै हुन्थे । हुन त तानसेनमा सांगीतिक वातावरणको प्रारम्भ कहिलेदेखि भएको भन्ने बारेमा खासै त्यस्ता कुनै लिखित प्रमाणहरु नभेटिएता पनि बुढापाकाहरुका अनुसार यो परम्परा त्यसबेला पाल्पाका लागि तैनाथवाला भएर आउने राणा तैनाथवालाहरुले नै काठमाडौंको जस्तो परम्परा तानसेनमा पनि ल्याएका थिए भनिन्छ । यिनीहरु जहाँ जाँदा पनि संगीतका वस्ताजहरुसंगै हुन्थे । यिनीहरुको दरबारमा भारतीय संगीतज्ञ, नर्तक नर्तकी, छोकडा, बाई आदि–आदि हुन्थे ।
यसै गरी पाल्पा आएका तैनाथवालाहरुले पनि संगीतका वस्ताजहरु आफुसँग ल्याएका हुन्थे । यस्ता वस्ताजहरु सबै भारतीय हुन्थे र दरवारमा बराबर शास्त्रीय गायनको कार्यक्रम हुन्थ्यो । यिनै वस्ताजहरुको संगतमा यहाँका स्थानीयहरुमा पनि राग रागीनी गाउने, बजाउने, नाँचगान, नाटक गर्ने अभिरुचि बढ्दै गएको थियो भनिन्छ । तर भारतीय वस्ताजहरुले सिकाउने यस्ता राग रागीनिहरु, नाटक आदि सबै संगीत उर्दु, फारसी भाषा मिश्रित हिन्दी भाषाका हुन्थे, त्यसबेलासम्म नेपाली गीत संगीतको प्रचलन थिएन । उनीहरुको संगतमा रहेर पहिलो पुस्ताकाले शास्त्रीय संगीत बारे जान्न सफल भए । भनिन्छ त्यसबेला तानसेन शास्त्रीय संगीतको क्षेत्रमा काठमांडौ उपत्यका पछि दोश्रो श्रेणीमा पर्दथ्यो रे । पहिलो पुस्ता पछि दोश्रो पुस्ताकाहरुले पनि शास्त्रीय संगीत सम्बन्धी ज्ञान लिए । उनीहरु राग गाएनका साथै विभिन्न साजहरु बजाउन सक्दथे । हिन्दी भाषाबाट नेपालीकरण गर्ने काम भाग्सुबाट आएका मास्टर मित्रसेन र बहादुर सिंह बराललले गरे । उनीहरुले नेपाली भाषामा पनि गीत, नाटक गर्न सकिन्छ भनेर कतिपय नाटकहरु तानसेनमा प्रदर्शन पनि गरे । त्यसपछि तानसेनमा हुने गरेका नाँचगान नाटक सबै नेपाली भाषामा नै गर्न थालियो । गुनु पुन्हीको अवसरमा नौ दिनसम्म छोकडा नाँच गरिन्थ्यो । काठमाडौंबाट आएका वस्ताद गोविन्दलाल र इश्वरीलालले तानसेनमा छोकडा नाँचको शुरुवात गरेका थिए भने त्यस परम्परालाई गीतको माध्यमबाट अगाडि बढाउँदै लैजाने क्रममा थुप्रै गीतकारहरु, नाँच्ने, गाउने, बजाउने कलाकारहरु तानसेनमा निस्के । पछिल्लो पुस्तामा आएर छोकडा नाच गर्ने जिम्मा देउराली परिवारमा आयो । देउराली सांस्कृतिक मण्डल गठन हुनु अगाडिदेखि नै यो समूह छोकडा नाँचमा लागेका थिए । रातरात भरि नाच हुन्थ्यो । नाच हेर्न वरपर गाउँ–गाउँबाट हजारौंको संख्यामा नरनारीहरु आउँथे र रातभरी नाँच संगसंगै हिड्थे । यही बेला बसपार्कका केही युवाहरुले पनि बसपार्क कल्याणकारी कोष भनेर छोकडा नाँच निकाल्थे । तानसेनको सांगीतिक क्षेत्र केवल शास्त्रीय संगीत तथा लोकगीतमा मात्र सीमित नभएर यहाँ बराबर भजन किर्तन हुन्थ्यो । बेलाबखत चाड पर्व जात्रा आदिहरुमा नियमितरुपमा बराबर यहाँ पुराना भक्ति भजनहरु, दाफा भजन तथा बौद्ध भजनहरु हुने गर्दथे । हुन त अहिले पनि सानै रुपमा भए पनि भजनहरु हुने गरेका छन् तर पहिले जस्तो रौनक छैन् । रागमा आधारित दाफा भजन, चैत्यराज भजन गाउने अग्रजहरुमा टक्सारमा, भीमसेनटोलमा थुप्रै कलाकारहरु थिए आज कोही छैनन् । त्यति धेरै अग्रजहरु शास्त्रीय संगीतका वस्ताज भएता पनि शास्त्रीय संगीत पुस्तान्तरण हुन सकेन जस्ले गर्दा अग्रजहरुको निधनसंगै सबै लोप हुँदै गए । शास्त्रीय संगीत पछि तानसेनमा लोकगीतको लहर चल्यो । देउराली परिवारले केही वर्षसम्म पाल्पाको मौलिक लोकगीत संकलन गर्ने परिमार्जन गर्नेदेखि लिएर देशका विभिन्न जिल्लाहरुमा समेत गएर प्रचार प्रसार गर्ने काम गरे । बेलाबखत स्थानीय विद्यालयहरुले आफनो विद्यालयको वार्षिक उत्सवको बेला सांस्कृतिक कार्यक्रमहरु हुन्थे । देउराली परिवारले स्कूल स्तरीय देउरालीको छहारी नाम गरेको नृत्य प्रतियोगिता नै गराई सांगीतिक माहोललाई टेवा दिइ राखेका थिए । तर यो पनि नियमित हुन सकेन बन्द भयो । पारिवारीक समस्या आदि विभिन्न कारणले देउरालीका सदस्यहरु लाखापाखा लागे पछि तानसेनको सांगीतिक माहोल सुस्त हुँदैै गयो । त्यस्तै गरी प्राचिन बैण्डले केही लोकगीत धेरै आधुनिक गीतहरु प्रस्तुत गरे । तर यो पनि समयको चक्रसंगै विलायो । यिनीहरु पनि लाखापाखा लागे । किनकी आजको जस्तो संगीतको व्यावसायिकरण त्यसबेला थिएन यो त एउटा केवल शौख मात्र थियो जुन धेरै समयसम्म टिक्ने सभावना थिएन । हुन त त्यसबेला आजको जस्तो मनोरञ्जनका साधनहरु थिएनन । त्यसैले पनि पहिलेका पुस्ताहरु स्वयं मैदानमा उत्रेर सांगीतिक माहोलमा मग्न हुुन्थे । आज विज्ञानले यति धेरै मनोरञ्जनका साधनहरु दिएका छन् कि सबै युवाहरु त्यसैमा मस्त छन् आफनो मौलिकता विर्सेर ति साधनमा भुलेका छन् । संगीत साधना गर्नेसँग उनीहरुको मतलब छैन । तानसेनको पुरानो सांगीतिक माहोलसँग केही मतलब छैन । देउराली परिवार पछि थुप्रै युवाहरु तानसेनमा देखा परे सांगीतिक क्षेत्रमा जुन पश्चिमी संगीत रक र पपबाट बढी प्रभावित थिए । यसैमा मस्त भए उनीहरु । गुरुको अभावको कारण कसरी गाउने, के गाउनेसँग मतलब थिएन, गीता र र ड्रमसेट बजाउन पाए भयो । यिनीहरुका आफना मौलिक रचनाहरु थिएनन् । यिनीहरु धेरैजसो अरु बैण्डहरुका गीत नै गाउँथे । यिनीहरु गीतहरु गाउँथे तर लयवद्ध थिएन, कर्णप्रिय थिएन । गीतार र ड्रमसेटको आवाजले गाएको केही बुझिदैन थियो तै पनि गाउँथे युवाहरु । पश्चिमी पारामा गाउने हुँदा यिनीहरुका गीतहरु स्पष्ट हुँदैन थियो केवल चिच्याहट बढि सुनिन्थ्यो कार्यक्रममा हेर्न जानेहरु भन्थे तै पनि यिनीहरुले कार्यक्रम गरे बराबर । तर यो क्रम पनि कोभिड कोरोना महामारीको कारण बन्द भए पछि तानसेनको सांगीतिक माहोल नै सेलायो ।
अहिले स्थानीय सरकारको पहलमा बतासेडाँडामा बनिरहेको सांस्कृतिक डवलीमा कति सांस्कृतिक कार्यक्रम, कति सांगीतिक कार्यक्रमहरु हुने हो कति दर्शकहरु जम्मा हुने हुन हेर्न बाँकी नै छ । डवली बनेको ठाउँ अलि पाएकको भएन कि त्यहाँ त साधन भएकाहरु मात्र जाने भो सबै जान सकदैनन् कि भन्नेहरु पनि देखियो । जे होस् आवश्यक थियो बन्यो । यसरी तानसेन त्यसबेला संगीतमय थियो । बराबर कार्यक्रमहरु भईरहने, रागहरु गाउने, बजाउने होडबाजी जस्तो हुन्थ्यो । हार्मोनियम, तबला, सितार, वाइलिनको धुन बराबर बजिरहन्थ्यो । शास्त्रीय संगीतमय थियो लोकगीतमय थियो तानसेन तर समयको चक्रसंगै अहिले आएर न त शास्त्रीय संगीत छ न लोकगीत नै त रक पप नै । गुमाउँदै छ तानसेनले आफनो साँगीतिक पहिचान । अब तानसेन कहिले पनि शास्त्रीय संगीतमय हुने छैन, लोकगीतमय हुने छैन । अस्तु ।
(लेखक देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठान पाल्पाका अध्यक्ष समेत हुन् ।)