Shittalpati
गणेश सहकारीको साधारण सभा:  ‘सहकारीको समस्या समाधानमा नगर सरकार कटिबद्ध’

रामचन्द्र रायमाझी

पाल्पा, तानसेन नगरपालिकाका सहकारी विभागका प्रमुख दुर्गाबहादुर थापाले सहकारीहरुको समस्या समाधानमा नगर सरकार कटिबद्ध रहेको बताएका छन् । सोमबार गणेश बचत तथा ऋण सहकारी संस्था लिं तानसेनको आठौं साधारण सभालाई सम्बोधन गर्दै थापाले सहकारीको विकास र विस्तारका क्रममा सहकारीमा देखापर्ने समस्या समाधानमा नगर सरकार कटिबद्ध रहेको बताएका हुन् ।

उनले नगर सरकारले सहकारीहरुको विकास र विस्तारका लागि स्थानीय सहकारी सञ्जाल समेत निर्माण गरी अगाडि बढेको बताउँदै सहकारीमा देखा परेका समस्याहरुलाई सहकारीहरुसँगै सहकार्य गरी नगर सरकार अगाडि बढेको धारणा व्यक्त गरे । प्रमुख थापाले सदस्यता वृद्धि गर्नु मात्रै ठूलो कुरा नरहेको बताउदै सदस्यलाई सशक्तिकरण र शिक्षित बनाउनु अहिलेको आवश्यकता रहेको औल्याए ।

उनले उद्यमी निर्माण गरी स्वरोजगार बनाउने र सहकारीका शेयर सदस्यहरुलाई सुपथ मूल्यमा दैनिक उपभोग्यवस्तु वितरण गर्ने अभियानमा नगर सरकारले सहयोग गर्ने बताए । प्रमुख थापाले सरकारले लिएको नीति सही रुपमा कार्यान्वयन गर्ने हो भने नेपालको समृद्धि छिटो र सहज रुपमा हुने दावी गर्दै सहकारीहरुलाई सहकारी नीति सही रुपमा कार्यन्वयन गर्न आग्रह गरे ।

कार्यक्रममा विशिष्ट अतिथि तथा सहकारीका पूर्व लेखापरीक्षक राधेश्याम ज्ञवालीले सहकारीको कार्य प्रसंशनीय रहेको भन्दै आगामी दिनमा पनि सोही अनुरुप अगाडि बढ्न संस्थालाई आग्रह गरेका छन् । उनले सहकारीले भौतिक संरचनाको विकाससँग सँगै मानविय स्रोतको विकास गर्नु पर्नेमा जोड दिए । ज्ञवालीले शेयर सदस्यहरु नै सहकारीका मालिक भएकाले संस्थाप्रति अपनत्व हुनुपर्ने बताए । उनले भने ‘सहकारीले बचत संकलनलाई प्रोत्साहन गर्दै बचतलाई सहित ठाउँमा परिचालन गर्नुपर्छ ।’

कार्यक्रममा संस्थाका अध्यक्ष रुकबहादुर थापाले सहकारीको मूल्य मान्यता र सिद्धान्तलाई आत्मसाथ गर्दै सहकारी अगाडि बढेको बताएका छन् । उनले स्थानीय सरकारबाट सहकारी ऐन कार्यान्वयनमा समस्या रहेकाले सहकारीहरु समस्यामा परेको बताए । उनले ऋण असुलीमा दरिलो नीति र कानुनी प्रावधान नहुँदा साना सहकारीहरु समस्यामा परेको गुनासो गरे ।

अध्यक्ष थापाले संस्थाको वार्षिक प्रतिवेदन समेत प्रस्तुत गरेका थिए । उनले आगामी कार्यक्रममा सहकारीको शेयर पुँजी वृद्धि गर्ने, संस्थापक सदस्यहरु सहित जेष्ठ शेयर सदस्यहरुलाई सम्मान गर्ने, भवन मर्मत तथा ट्रस लगाउने, फरक क्षमताका व्यक्तिहरुलाई आर्थिक सहायता गर्ने लगायतका विषयवस्तुहरुलाई समावेश गरेको जनाएका छन् । संस्थाका संस्थापक अध्यक्ष क्याप्टेन बोमबहादुर रानाले सहकारीमा सबै सदस्यहरु एक ढिक्का भएर अगाडि बढ्नुपर्ने बताए । उनले संस्थाप्रति सबैले अपनत्व ग्रहण गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा संस्थाका लेखा समितिका संयोजक विष्णु गाहाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले सहकारीले स्थापनाकालदेखि नै शेयर सदस्यहरु बिच बैंकिङ्ग कारोबार, नियमित बचत, बालबचत, आवधिक बचत, दैनिकी बचत गर्ने जस्ता काम गर्दै आएको बताए । संयोजक गाहाले यस वर्ष सहकारीले ४४ लाख २६ हजार ३ सय ५० खुद नाफा गर्न सफल भएको जानकारी दिए । उनले भने‘ गत वर्षको तुलनामा खुद नाफा दशलाखले वृद्धि भएको छ ।’ कार्यक्रममा कोषाध्यक्ष मनिषा रेस्मीले संस्थाको आर्थिक वर्ष २०७७/०७८ को १ करोड २३ लाख ३० हजार २ सय ६२ बराबरको आय–व्यय प्रस्तुत गरेकी थिईन् ।

कार्यक्रममा सहकारीले कोरोना महामारीका बेलामा पनि सक्रियताका साथ कार्यालयको काम गर्ने कर्मचारी , भवन निर्माणमा सहयोग पुर्‍याउने र जेष्ठ नागरिकहरुलाई सम्मान समेत गरेको छ । भवन निर्माणमा सहयोग गर्ने भद्र बहादुर थापा, दलबहादुर थापा, चन्द्र बहादुर थापा, चन्द्र बहादुर राना, रामबहादुर रानालाई सम्मान गरिएको थियो । त्यस्तै कोभिडका बेलामा पनि सहज रुपमा सेवा प्रवाह गरेका सहकारीका व्यवस्थापक सम्झना थापा दर्लामी, लेखापाल गुनीश्वर रेस्मी, बजार प्रतिनिधिहरु शिरा सूर्यवंशी, बेगाम थापा र कार्यालय सहायक हेमा रानालाई सम्मान गरिएको हो । त्यस्तै सहकारीले संस्थापक शेयर सदस्यहरु मध्ये जेष्ठ शेयर सदस्यहरु धुम बहादुर बूढाथोकी, भूपालसिंह थापा, डमबहादुर रानालाई सम्मान गरेको छ । संस्थाका अध्यक्ष रुक बहादुर थापाको अध्यक्षता, उपाध्यक्ष धनबहादुर गाहाको स्वागत, सचिव दिलबहादुर रानाको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update