रामचन्द्र रायमाझी
पाल्पा, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले सरकारले उद्योगी, व्यवसायीहरुको समस्या बुझ्न नसकेको बताएका छन् । उनले मुलुकको आर्थिक विकासमा उद्योगी, व्यवसायीहरुको भूमिका महत्वपूर्ण रहे पनि सरकारले त्यो विषय बुझ्न नसकेको बताए । शनिबार पाल्पा उद्योग वाणिज्य संघको ६६ औं साधारण सभालाई तानसेनमा सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका शर्माले उद्योगी, व्यवसायीहरुको समस्याप्रति सरकार उदासिन रहेको उल्लेख गर्दै बरु यो वा त्यो बाहनामा उनीहरुलाई दुख दिने गरेको धारणा व्यक्त गरे । उनले सरकारले उद्योगीलाई अनावश्यक कर र मानसिक त्रास सिर्जना गरेकाले उद्योगी व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेको बताए । अध्यक्ष शर्माले भने ‘निजी क्षेत्रको सहयोग विना समृद्ध नेपाल निर्माण हुन सक्दैन, त्यसैले उद्योगी व्यवसायीको हित र आर्थिक विकासमा सरकारले ध्यान दिन आवश्यक छ ।’ सरकारले उद्योगी, व्यवसायलाई हेर्ने दृष्टिकोण बदल्नु पर्नेमा उनले जोड दिए । कहिले अनुगमनका नाममा त कहिले नयाँ प्रणालीका नाममा व्यवसायीहरुले दुःख पाएको भन्दै उनले कर तिरेर ढुक्कसँग व्यवसाय गर्ने वातावरण सरकारले सिर्जना गर्नु पर्ने बताए । सरकारले लिएको सुखी नेपाली समृद्ध नेपालको लक्ष्य पुरा गर्न उद्योगी, व्यवसायीलाई सरकारले विशेष ध्यान दिनु पर्ने अध्यक्ष शर्माले बताए । उनले नीजि क्षेत्रको लगानीको संरक्षणमा राजनीतिक दल र तीन तहका सरकार समेत उदासिन बनेको आरोप लगाए । पछिल्लो समय उद्योगी व्यवसायीहरु कोभिडबाट बढी नै प्रभावित भई बैंकहरुको चर्को व्याज तिर्नु परेको अवस्थामा सरकारले वेवास्ता गर्नु दुखद् भएको अध्यक्ष शर्माको भनाई छ । उद्योगी व्यवसायीहरुको समस्या समाधानमा सबैले सहयोग गर्नुपर्नेमा उनले जोड दिए । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका सदस्य तथा रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रसाद ढकालले नेतृत्व र व्यवसायीहरुका कारण संघको शाख खस्कदै गएको बताए । उनले पाल्पा उद्योग वाणिज्य संघको विगतको शाख जोगाउन संघलाई आग्रह गरे । कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्वल कसजुले अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएमा पाल्पाको व्यापार व्यवसायमा टेवा पुग्ने बताए । संघका निर्वतमान अध्यक्ष मोहन प्रसाद श्रेष्ठले जनप्रतिनिधि नहुँदा जिल्लाको विकासमा संघले उल्लेखनिय काम गरेको भए पनि अहिले स्थानीय सरकार आएपछि नीजि क्षेत्रलाई सौताको जस्तो व्यवहार गरिएको प्रति दुख व्यक्त गरे ।
कार्यक्रममा संघका सल्लाहकार तथा पूर्व अध्यक्ष हरी रायमाझी, नेपाली काँग्रेस पाल्पाका सचिव अजयमान कर्माचार्य, नेकपा (एकिकृत समाजवादी) का सचिव मोहन गैरे, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य डुलबहादुर कुँवर, राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामी, पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना लगायतले जिल्लाको आर्थिक विकाससँगै उद्योगी, व्यवसायीहरुको हितमा संघले नयाँ ढंगले सोच्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा कोरोना महामारीका बेला जोखिम मोलेर संक्रमितको सेवामा समर्पित रहेका संघका वाणिज्य उपाध्यक्ष यादव सिंह कार्कीलाई सम्मान गरिएको थियो । सोही अवसरमा संघका महासचिव शैलेन्द्र भट्टराईले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष राजिव श्रेष्ठले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । संघका अध्यक्ष राजु मर्हजनको अध्यक्षता, वाणिज्य उपाध्यक्ष यादव सिंह कार्कीको स्वागत, महासचिव शैलेन्द्र भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो ।
संघको बन्द शत्र कार्यक्रममा संघका पूर्व कार्यसमिति सदस्य विदुर घिमिरेले उद्योगी व्यवसायीहरुको हक हित र व्यवसायी प्रवद्र्धनका लागि आलोचनात्मक सुझाव सहित प्रश्न राखेका छन् । घिमिरेले कोरोना महामारीबाट प्रभावित उद्योगी व्यवसायीहरुको हितमा संघले कुनै पनि कार्यक्रम नगरेको, नविकरणका नाममा पूर्ण रुपमा शुल्क उठाउने काम गरेको, उद्योगी व्यवसायीहरुको नाममा आएको कोरोना खोप पहुँचको आधारमा गैर व्यवसायीहरुलाई संघले उपलब्ध गराएको, संस्थालाई आर्थिक रुपमा सवल र सक्षम बनाउने दिशामा संघले वेवास्ता गरेको, व्यवसायीहरु पलायन हुने अवस्था सिर्जना भएकाले रोक्ने तर्फ संघले ध्यान नदिएको लगायतका ११ बुँदे आलोचनात्मक सुझाव सहित प्रश्न राखेका थिए । उनले उल्लेखित सुझाव र प्रश्नलाई मनन् गरी आगामी दिनमा संघले उद्योगी व्यवसायीको हकहितका लागि काम गर्न आग्रह गरे ।