Shittalpati
‘कृषि र पशुपालनबाट गाउँपालिकावासीलाई आत्मनिर्भर बनाउँछौं’

पाल्पा, जिल्लाको माथागढी गाउँपालिका अध्यक्ष सन्तोष कुमार थापाले कृषि र पशुपालनबाटै गाउँपालिकावासीलाई आत्मनिर्भर बनाउने बताएका छन् । शुक्रबार बेस नेपाल पाल्पाको आयोजना माथागढी गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोगमा सञ्चानल हुने तीन दिने हेफर आधारशिला तालिमको तानसेनमा उद्घाटन गर्दै अध्यक्ष थापाले गाउँपालिकावासीहरुलाई कृषि तथा पशुपालनमार्फत आत्मनिर्भर बनाउने बताएका हुन् ।

उनले सरकारी तथा गैरसरकारी संस्थाको समन्वयमा कृषि तथा पशुपालनको क्षेत्रमा कार्यक्रमहरु सञ्चालन गरिएको भन्दै अब यहाँका नागरिकहरुको जीवनस्तर कृषि र पशुपालनबाटै माथि उठाउने दिशामा गाउँपालिका लागिपरेको धारणा व्यक्त गरे । अध्यक्ष थापाले हेफरसँगको सहकार्य छोटो समय भए पनि दिगो रुपमा कार्य गर्न सहज भएको बताए । उनले तालिम प्राप्त पछि चुनौतीहरु धेरै भए पनि तालिमले काम गर्न र जीवन परिवर्तनमा सहजता ल्याउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराईले हरेक नागरिकहरुको जीवनस्तरलाई कसरी माथी उठाउँने भन्ने विषयमा गाउँपालिका सधै चिन्तित रहने गरेको बताईन् । वडा अध्यक्ष शिव प्रसाद धिमिरेले तालिमबाट सिकेका कुराहरुलाई व्यवहारमा लागु गर्न तालिममा सहभागीहरुलाई आग्रह गरे ।

आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्र्तगत ‘भोकालाई एक छाक भोजन होईन , जिउने जुक्ति सिकाऔँ’ भन्ने मुल नाराका साथ हेफर आधारशिला तालिम सञ्चालन गरिएको गाउँपालिका प्रवक्ता मधु पराजुलीले बताए । तीन दिनसम्म सञ्चालन हुने तालिमको हेफर इन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत शोभाखर न्यौपाने र अधिकृत शकुन्तला रसालीले सहजीकरण गर्ने छन् ।

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ५, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update