Shittalpati
रैनादेवी छहराका महिलालाई सिपमूलक तालिम

पाल्पा, जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले महिलालाई आत्मनिर्भर बनाउन सिपमूलक तालिमलाई जोड दिएको छ । सिप सिकाएर महिलालाई आत्मनिर्भर बनाउनका लागि गाउँपालिका लागी परेको छ । गाउँपालिकाले यहाँका महिलाहरुका लागि अहिले लेडिज व्याग बनाउने सिपमूलक तालिम सञ्चालन गरेको छ । दश दिनसम्म सञ्चालन हुने उक्त तालिमको विहीबार गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले एक औपचारिक कार्यक्रमका बीच शुभारम्भ गरेका छन् । तालिमको शुरभारम्भ गर्दै अध्यक्ष कार्कीले पालिकाका महिलाईहरुलाई सिपमूलक तालिम दिई आत्मनिर्भर गराउने उद्देश्य गाउँपालिकाको रहेको बताए ।

आम्दानी दिने खालका काममा सामान्य सिपसमेत नभएका कारण महिलाहरु आयआर्जनका काममा लाग्न नसकेकोले उनीहरुलाई सिप विकासको तालिम दिन गाउँपालिका लागि परेको उनले धारणा व्यक्त गरे । अध्यक्ष कार्कीले भने ‘सिपमूलक तालिमलाई ध्यान दिदै पालिकाभरीका महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि विभिन्न योजनाका साथ लागिपरेका छौं ।’ सिप विकास तालिमका साथै पालिकाले महिलाहरुलाई कृषिमा अनुदान समेत दिदै आएको अध्यक्ष कार्कीले बताए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष चेतकुमारी थापाले तालिममा सिकेका कुराहरुलाई व्यवहारिक रुपमा उतार्न तालिममा सहभागीहरुलाई आग्रह गरिन् । आयआर्जन मुलक पेशामा महिलाहरु लाग्न नसकेकाले उनीहरुलाई सिपयुक्त बनाउने विषयमा गाउँपालिकाको ध्यान गएको उनको भनाई छ ।

‘महिलाहरु सदिऔं देखि चुलो र चौकोमा मात्र सिमित छन्, उनीहरु आय आर्जनमा जोडिन सकेका छैनन्,’ उनले भनिन, ‘उनिहरुमा सिप विकास गर्न सकियो भने धेरै महिलाहरु आय आर्जनमा जोडिन सक्छन्, यसले समग्र परिवारको आर्थिक स्तर राम्रो हुने छ ।’ गाउँपालिका प्रवक्ता विष्णु पोखरेलले महिलाहरुको आर्थिक समृद्धिका लागि तालिम सहयोगी बन्ने बताए । सिपले नै मानिसको जिवीकोपार्जनलाई आर्थिक रुपमा सक्षम र सवल बनाउने उनले विश्वास व्यक्त गरे । प्रमुख प्रशासकिय अधिकृत इन्द्र क्षेत्रीले महिलाहरूले आयमुलक सिप सिकेर आफैँ आत्मनिर्भर बन्न सकुन् भन्ने मुल उद्दश्यले तालिम सञ्चालन गरिएको बताए । उनले व्यवसायिक रुपमा व्याग बनाउने महिलाहरुका लागि बजारको प्रवन्ध समेत गाउँपालिकाले मिलाईदिने तर्फ ध्यान दिने बताए । तालिममा ३० जना प्रशिक्षार्थी महिलाहरूको सहभागिता रहेको छ । तालिम शुभारम्भ कार्यक्रममा कार्यपालिका सदस्य मिना कंवर, लेखा अधिकृत लिलामणी बस्याल लगायतले तालिमले महिलाहरुलाई व्यवसायिक बनाई स्वरोजगार बन्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ५, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update