
पाल्पा, पाल्पामा सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बुधबार पत्रकारहरुसँग भेटघाट तथा परिचयात्मक कार्यक्रम गरेका छन् । प्रमुख जिल्ला अधिकारी पन्तले जिल्लाको समग्र जानकारी तथा सुझावहरु लिन पत्रकारहरुसँग भेटघाट गरेका हुन् ।
जिल्लामा आउने प्रत्येक प्रजिअले जस्तै पन्तले पनि सो कार्यको निरन्तरता दिएका छन् । पत्रकारसँगको छलफलमा उनले जिल्लाको शान्ति सुरक्षाको अवस्था मजबुत बनाउन आफुले सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाएका छन् । प्रजिअ पन्तले प्रशासनिक कामको सुधारसँगै अरु धेरै कामहरुमा सुधार ल्याएर सेवा ग्राहीलाई सेवामैत्री वातावरण तयारमा ध्यान दिने बताए ।
भेटघाटको क्रममा पत्रकारहरुले जिल्लामा टिपर अनियन्त्रित रुपमा सञ्चालन भएको, अत्याधिक ओभरलोड बोक्दा समेत प्रहरी मुखदर्शक भएको, सरकारी सवारी साधनहरुको दुरुपयोग बढेको, जिल्लाका सरकारी कार्यालयहरु सूचनामैत्री नभएको,गाउँपालिकाबाट सूचना लिन कठिन भएको लगायतका गुनासाहरु राख्दै सोही अनुसारको भूमिका निर्वाह गर्न प्रजिअ पन्तलाई आग्रह गरेका छन् ।
त्यस्तै स्थानीय मिडियाहरुलाई दिगो राख्नका लागि स्थानीय सूचना, विज्ञापनहरुलाई जिल्लाका मिडियाहरुमै दिने व्यवस्थाको प्रवन्ध मिलाउन पनि प्रजिअ पन्तलाई पत्रकारले सुझाव दिएका छन् । सरकारी कार्यालयहरुमा पत्रकार मैत्री व्यवहार नभएको, सबै कार्यालयमा सूचना अधिकारीले पूर्ण जिम्मेवारी नपाएकाले पत्रकारहरुले समयमा सूचना नपाएको पत्रकारहरुले गुनासो गरेका थिए ।
कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्ष रेखिराम राना, उपाध्यक्ष भरत शर्मा, सचिव यज्ञमूर्ति तिमिल्सीना, कोषाध्यक्ष मुक्ति न्यौपाने, प्रेस चौतारी नेपालका अध्यक्ष राजेन्द्र लिगल, नवजनचेतना दैनिकका सम्पादक जगदीश भट्टराई, उपसम्पादक रामचन्द्र रायमाझी, कान्तिपुर दैनिकका उपसम्पादक माधव अर्याल, श्रीनगर एफएमका स्टेसन म्यानेजर देव पचाभैया लगायतले आ–आफ्ना धारणा राखेका थिए । प्रमुख जिल्ला अधिकारी पन्तले पत्रकारले उठाएका विषय वस्तुमा आफनो ध्यान जाने र आगामी दिनहरुमा सुझाव सल्लाह दिनसमेत आग्रह गरेका थिए । यस अघिका प्रजिअ योगेन्द्रप्रसाद पाण्डेय सरूवा भइसकेकाले मन्त्रीस्तरीय निर्णयका आधारमा पन्त पाल्पाका प्रमुख जिल्ला अधिकारीको रूपमा सरूवा भई आएका हुन् । पन्त यसअघि गृह मन्त्रालयमा कार्यरत रहेका थिए ।