Shittalpati
पाल्पामा डेंगुले वडा सदस्यको निधन

पाल्पा, जिल्लाको रम्भा गाउँपालिका–१ का वडा सदस्य हुमबहादुर सिंजालीको डेंगुबाट निधन भएको छ । मंगलबार साँझ डेंगुका कारण वडा सदस्य सिंजालीको निधन भएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए ।

सिंजालीको ५७ वर्षको उमेरमा उपचारको क्रममा गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा मृत्यु भएको हो । उनलाई स्वास्थ्यमा समस्या देखिएपछि परिवारले आइतबार स्याङजाको गल्याङ सामुदायिक अस्पताल पुर्‍याएको थियो । उनमा सुरुमा हात दुख्ने समस्या देखिएको थियो । सिंजालीलाई सामन्य उपचारपछि गल्याङ सामुदायिक अस्पतालबाट घर ल्याइएको थियो । पुनः उनको स्वास्थ्यमा समस्या देखिएपछि परिवारले उनलाई तानसेनको युनाइटेड मिसन अस्पताल पुर्‍याइएको गाउँपालिका अध्यक्ष भण्डारीले बताए । उनका अनुसार मिसनमा उपचार संभव नभएपछि परिवारले मंगलबार विहानै बुटवल पुर्‍याएका थिए । गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा उपचार गराइरहेका उनको साँझा निधन भएको अध्यक्ष भण्डारीले एनजेडीलाई जानकारी दिए । उनका अनुसार मृतक सिंजालीको मृगौलाले समेत काम गर्न छोडेको थियो । मृतक सिंजाली गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका थिए । वडा सदस्यको मृत्यु भएपछि गाउँपालिकाले बुधबार शोक विदा दिए छ । सिंजालीको निधनले गाउँपालिकाले एक कुसल, इमान्दार जनप्रतिनिधि गुमाउन पुगेको अध्यक्ष भण्डारीले बताए । उनले लामो समयसम्म वडाको कार्यवाहक अध्यक्ष समेत समालेका थिए । सिंजालीका २ छोरा, एक छोरी र श्रीमति रहेका छन् ।

प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update