पाल्पा, नेपालमा अधिकांस बैंकहरुले ब्याजदर बढाएका छन् । उनीहरुले बैंकको ब्याजदर पछिल्लो ३ वर्ष यताकै उच्च बनाएका हुन् । कार्तिक १ गतेदेखि बैंकहरुको निक्षेपमा नयाँ ब्याजदर लागू भएको छ । उनीहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । आधा दर्जन बैंकहरुले यस वर्षकै उच्च ब्याजदर सार्वजनिक गरेका छन् । सनराइज र सानिमा बैंकहरुले भने ब्याजदर घटाएका छन् । अघिल्लो महिना सबैभन्दा महंगो ब्याजदर सार्वजनिक गरेर चर्चामा आएको सनराइज बैंकले यतिबेला संयमता अपनाएको छ । अघिल्लो महिना सनराइजले मुद्दति निक्षेपमा अधिकतम १०.०७ प्रतिशत ब्याजदर दिने उल्लेख गरेको थियो । त्यसबेला बैंकहरु मध्येको सबैभन्दा महंगो यो बैंक बनेको थियो । तर अहिले यसले ब्याजदर घटाएर ९ प्रतिशतमा झारेको छ । त्यस्तै सानिमा बैंकले पनि ब्याजदर घटाएको छ । बैंकका अनुसार मुद्दति निक्षेपमा अधिकतम ब्याजदर ८ दशमलव ५१ प्रतिशत तोकिएको छ । यस अघि बैंकले मुद्दति निक्षेपमा ९.५१ प्रतिशत तोकेको थियो । मुद्दति निक्षेपमा ब्याजदर घटेसँगै ऋणको समेत ब्याजदर घट्ने भएकाले ऋण लिनेलाई राम्रै हुने छ ।
प्रभु बैंकको ब्याजदर स्थिर देखिएको छ । सनराइज लगायतका केही बैंकहरुले ब्याजदरमा संयमता अपनाउदा हिमालयन, एनआइशी एशिया लगायतका केही बैंकहरुले भने आक्रामक रुपमा ब्याजदर बढाएका छन् । हिमालन बैंकको निक्षेपमा ११ दशमलव ६६ प्रतिशतसम्म दिने बताएको छ । यो बैंकहरु मध्ये सबैभन्दा धेरै हो । उता कर्जा लगानीमा आक्रामक देखिने गरेको एनआइशी एशिया बैंकले पनि निक्षेपमा महंगो ब्याजदर घोषणा गरेको छ । एनआइशी एशियाले ११ दशमलव १० प्रतिशतसम्म ब्याजदर दिने बताएको छ । यो हिमालयन पछि सबैभन्दा धेरै महंगो ब्याजदर हो ।