
कृष्ण पोखरेल
तानसेन, सिद्धार्थ राजमार्गको तानसेन पोखरा सडक खण्डको पोखराथोकमा सवारी साधनको ठक्करबाट आईतबार विहान एक बटुवाको मृत्यु भएको छ । विहानको समयमा सडकमा हिडिरहेको अवस्थामा सवारी साधनको ठक्करबाट बटुवाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बगनासकाली गाउँपालिका वडा नंं २ पोखराथोक छतिवनका ५९ बर्षिय श्याम बहादुर रोकाहा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी एवं प्रहरी निरिक्षक लक्ष्मण पचभैयाले जानकारी दिए । पैदलयात्रु रोकाहालाई ठक्कर दिई फरार रहेको सवारी साधनको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ । दुई वटा शंकास्पद सवारी साधनलाई भने नियन्त्रणमा लिई सोधपुछको काम भईरहेको प्रहरी निरीक्षक पचभैयाले बताए । प्रहरीले अहिले पाल्पाका विभिन्न चोक–चोक तथा नाकामा सवारी साधन रोकी खोजीकार्य जारी राखेकोे छ ।