रामचन्द्र रायमाझी
पाल्पा, तानसेनमा सञ्चालित सहकारी संस्थाहरुले सहकारीको माध्यमबाट समृद्धिको प्रतिवद्धता व्यक्त गरेका छन् । उनीहरुले तानसेन नगरपालिकाको आयोजनामा शुक्रबार भएको नगरस्तरीय सहकारी भेलामार्फत समग्र सहकारी अभियान थप सफलताका लागि साझा धारणा बनाएर सहकारीमार्फत उत्पादन वृद्धि र रोजगारी प्रवद्र्धनका काम गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । उनीहरुले सहकारीबाट नै आर्थिक, सामाजिक, सांस्कृतिक र जीवनस्तर अभिवृद्धि गर्न सकिने भन्दै सबै सहकारीहरु एक भएर अगाडि बढ्नेमा जोड दिएका छन् ।
यहाँका सहकारीहरुले भेलाबाट नगर क्षेत्रमा सहकारी अभियानमार्फत सहकारी सदस्यहरुको आर्थिक, सामाजिक र सांस्कृतिक उन्नती र जीवनस्तर अभिवृद्धिको लागि सम्पूर्ण सहकारी संस्थाहरु, सहकारी सञ्जाल, तानसेन नगरपालिका र सम्वन्धित संघ संस्थाहरुसँग समन्वय, सहकार्य र साझेदारीता अभिवृद्धि गर्ने निर्णय गरेका छन् । यस्तै सहकारीहरुले नगरपालिकासँग समन्वय गरी सुपथ मूल्य पसलको सञ्चालन र व्यवस्थापनका लागि सहकारी संस्थाहरुको सहभागिता रहने गरी सञ्जाललाई जिम्मेवारी प्रदान गर्ने, नगरपालिकाबाट सञ्चालन गरिएको युवा स्वरोजगार कार्यक्रममा सहकारी संस्थाहरुले समन्वय र सहकार्य गरी नगरक्षेत्र भित्रका प्रत्येक सहकारी संस्थाहरुबाट वार्षिक रुपमा कम्तिमा एक जना युवालाई स्वरोेजगार बनाउने गरी ऋण प्रवाह तथा दायित्व निर्वाह गर्ने,कृषक तथा सहकारी संस्थाहरुबाट उत्पादित वस्तुहरुको बजारीकरणका लागि नगरपालिकासँग पूर्वाधार सहयोगको व्यवस्था मिलाई सञ्जालमार्फत आवश्यक कार्यक्रम गर्न जिम्मेवारी प्रदान गर्ने निर्णय गरेका छन् । भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा नगर प्रमुख अशोक कुमार शाहीले आर्थिक समृद्धि हासिल गर्नका लागि सहकारी महत्वपूर्ण माध्यम रहेको नगर सरकारको ठहर रहेको बताएका छन् । उनले स–साना लगानीहरुलाई सहकारीको माध्यमबाट परिचालन गरी आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने बताएका हुन् । आर्थिक अभावका कारण सिर्जना हुने विभेदको अन्त्यका लागि पनि सहकारी एक महत्वपूर्ण कडी रहेको नगर सरकारको ठहर रहेको उनको भनाई छ । सहकारीको विकास र विस्तारकै लागि नगरमा सहकारी सञ्जाल गठन गरिएको नगर प्रमुख शाहीले बताए । उनले सहकारीमा लगानी बढाउन लगानी कर्ताहरुलाई आग्रह गरे । शाहीले भने ‘हजुरहरु लगानी गर्नुहोस् लगानीको सुरक्षा नगर सरकारले गर्छ । ’
नगरभित्रका सहकारीहरुलाई व्यस्थित रुपमा सञ्चालन गर्न, निति नियम निर्देशिका बमोजिम कार्यान्वयन गराउन, हरेक सहकारीलाई उत्पादन बजार र रोजगारीसँग जोड्न नगर सरकारको अभियान नै रहेको उनको भनाई छ । तानसेन नगरपालिकाको स्थानीय सहकारी सञ्जालको संयोजनमा भएको कार्यक्रममा तानसेन भित्रका सहकारीका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो । नगरपालिकाका सहकारी विभागका प्रमुख तथा सूचना अधिकारी दुर्गाबहादुर थापाले सहकारी सञ्जालका सम्बन्धमा आफ्नो प्रस्तुति राखेका थिए । उनले सहकारीताका उपलब्धी,सहकारीका समस्या समाधानका लागि नगरपालिकाले खेल्नु पर्ने भूमिका, सहकारी नियमन, अनुगमन, प्रवद्र्धनका लागि नगरपालिकाले गर्ने गतिविधी, सूपथ मूल्य पसल सञ्चालनका विषयमा प्रस्तुति राखेका हुन् ।कार्यक्रम तानसेन नगरपालिका स्थानीय सहकारी सञ्जालका संयोजक महेश्वर पन्तको अध्यक्षता, प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद पाण्डेको स्वागत, मीना जिसीको सञ्चालनमा कार्यक्रम भएको थियो । नगर सरकारले नगर भित्र रहेका सहकारीहरुलाई एक आपसमा सहकार्य र समन्वय गराई गुणात्मक रुपमा अगाडि बढाउन सहकारी सञ्जाल नै गठन गरी सहकारी अभियानलाई अगाडि बढाएको छ । तानसेनमा सहकारी सञ्जाल गठनमार्फत प्रतिव्यक्ति आयमा राम्रो प्रभाव पर्ने जिल्लाका सहकारी अभियान्ताहरुले विश्लेषण गर्न थालेका छन् । तानसेन भित्र रहेका १४ वटा वडाहरुमा ४९ वटा सहकारी संस्थाहरु रहेका छन् । जहाँ १ अर्ब २३ करोड निक्षेप संकलन भएको छ । १३ हजार ५ सय १९ महिला र १० हजार ५ सय ९६ पुरुष गरी २४ हजार १ सय १५ जना शेयर सदस्यका सहकारीमा १७ करोड ५० लाख ८९ हजार ९ सय ५१ शेयर पुंजी लगानी भएको छ । तानसेन भित्र वचत तथा ऋणको कारोवार गर्ने १७, कृषि ११, दुध ३, कफी २ बहुउद्देश्यीय १२, अदुवा १, र अन्य ३ गरी ४९ सहकारी संस्थाहरु रहेका छन् । २०६८ सालको जनगणनालाई आधारमान्दा नगर भित्रका १३ हजार ६ सय ४६ घर धुरीका ५० हजार ४ सय ५ कुल जनसंख्या मध्ये झण्डै ४८ प्रतिशत जनसंख्या सहकारीमा प्रत्यक्ष संलग्न रहेको सहकारी विभागले जनाएको छ ।