
रामचन्द्र रायमाझी
पाल्पा, स्थानीय तहबाट प्रदान हुने सेवा सुविधा तथा विकास निर्माणको कार्यलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्न पाल्पाको माथागढी गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । गाउँपालिकाले वडा तहदेखि पालिकासम्म भएका सेवा प्रवाह, योजना, बजेट विनियोजन र कार्यक्रमका विषयमा आम नागरिकहरुलाई जानकारी गराउने र उनीहरुका गुनासहरु सम्बोधन गर्न बिहीबार सार्वजनिक कार्यक्रम गरेको हो ।
कार्यक्रममा गाउँपालिका तथा वडा कार्यालयहरुको काम कारवाही, सेवा प्रवाह, योजना एवं कार्यक्रम, बजेट जस्ता सार्वजनिक विषयमा सम्बन्धित सेवा प्रदायक र सेवाग्राहीबीच छलफल गरिएको थियो ।
कार्यक्रममा सेवाग्राहीहरुले स्थानीय सरकारसँग आफ्ना गुनासाहरु राखे । उनीहरुले गाउँमै आएको स्थानीय सरकारबाट सहज र सरल रुपमा आमनागरिकले सेवा लिन पाउनुपर्ने बताएका छन् । कहि कतै अनुदानका कार्यक्रमहरुमा पहुँचवालाहरुले मात्र पाउने र सिधासोझाहरुले नपाउने अवस्था रहेको उनीहरुको गुनासो थियो । कार्यक्रममा सहभागीहरुले गाउँपालिका गरिव र विपन्नमैत्री बन्न पनि सुझाएका छन् । अधिकांस नागरिकहरुले समग्रमा गाउँपालिकाको सेवाप्रवाह र कार्यक्रमहरु सन्तोषजनक भए पनि आगामी दिनमा थप प्रभावकारी बनाएर लैजान स्थानीय सरकारलाई आग्रह गरे ।
कार्यक्रममा स्थानीय स्तरमै पुगेर नागरिकका गुनासा, जिज्ञासा र प्रश्नहरु समेत ल्याइएको थियो । उक्त गुनासा, जिज्ञासा र प्रश्नहरुको गाउँपालिकाका प्रमुख तथा विषयगत शाखाका प्रमुखहरुले सम्बोधन गरेका थिए । कार्यक्रममा स्थानीय पत्रकार माया बस्याल, पत्रकार महासंघ पाल्पाका जिल्ला सदस्य कृष्ण पोखरेल, नेपाली काँग्रेसका प्रतिनिधि महेन्द्र जिसी, नेकपा माओवादी केन्द्रका प्रतिनिधि हरी चौहान लगायतले सेवा प्रवाह र योजना निर्माणमा जनतालाई केन्द्रमा राखेर काम गर्न गाउँपालिकालाई आग्रह गरे ।
कार्यक्रममा उठेका प्रश्नको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगर,निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव जिसी, शिक्षा संयोजक अशेष भट्टराई र कृषि शाखा संयोजक सीता खाम्चा र सम्बन्धित वडाका वडा अध्यक्षहरुले जवाफ दिएका थिए । उठेका प्रश्नको जवाफ दिदै गाउँपालिका अध्यक्ष थापाले नागरिकस्तरबाट आएका गुनासा, सुझावलाई आगामी दिनमा सम्बोधन गर्दै जाने बताए । उनले गाउँपालिका सधै जनतालाई केन्द्रविन्दुमा राखेर अगाडि बढेको बताउँदै आगामी दिनमा पनि सेवाप्रवाह देखि योजना छनौट, बजेट निर्माण जस्ता कार्यहरुमा जनतालाई नै प्राथमिकतामा राखेर जाने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रमका सहजकर्ता तथा पत्रकार मुक्ति न्यौपानेले ८ वटै वडाका जनताहरुबाट आएका गुनासा , जिज्ञासाहरुको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमा आमनागरिकहरु पालिकाको सेवाप्रवाह र कार्यक्रमप्रति सन्तोषजनक रहेको उल्लेख गरिएको छ । कार्यक्रम दिपक पोखरेलको सञ्चालनमा भएको थियो ।