
पाल्पा(माथागढी), जिल्लाको एक सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई भाग्य बोक्ने झोला दिइएको छ । माथागढी गाउँपालिका –४ झडेवामा रहेको जनप्रिय प्रा.वि.मा अध्ययनरत विद्यार्थीहरुका लागि पहिलो पाईल नेपाल पाल्पाले भाग्य बोक्ने झोला दिएको हो ।
नेपालले एक औपचारिक कार्यक्रमको आयोजना गरी कक्षा १ देखी ५ सम्म अध्ययनरत ६२ जना विद्यार्थीहरुलाई भाग्य बोक्ने झोला लेखिएको लोगो सहितको झोला वितरण गरेको छ । उक्त झोला कार्यक्रमका प्रमुख अतिथि तथा ४ का वडा अध्यक्ष मधु पराजुलीले विद्यार्थीहरुलाई हस्तान्तरण गरेका थिए । झोला हस्तान्तरण गर्दै गाउँपालिकाका प्रवक्ता समेत रहेका पराजुलीले विद्यार्थीहरु भविष्यका कर्णदार भएकाले पहिलो पाइला नेपालले झोला वितरण गरेर प्रशंसनिय कार्य गरेको बताए । उनले विद्यालय केन्द्रित यस्ता कार्यक्रमले बालबालिकाहरुलाई नियमित विद्यालय आउन प्रेरित गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रमका विशिष्ट अतिथि शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका प्रमुख रमेश राज पौडेलले बच्चाहरुलाई पढाउने भन्दा पनि सिकाउने कुरामा बढी जोड दिनु पर्ने बताए । उनले विद्यालयको समग्र विकासका लागि सबै पक्ष एकजुट भई लाग्न सके शिक्षा गुणस्तरी र विद्यार्थी मैत्री बनाउन सकिने धारणा व्यक्त गरे ।
कार्यक्रममा विद्मालयका प्रधानाध्यापक हरिराम जिसिले विद्यालयलाई नमूना र पूर्ण बालमैत्री बनाउने योजनाका साथ आफूहरु अघि बढेकाले अन्य पक्षहरुले पनि सहयोग गर्न आग्रह गरे । किसान मावि झडेवाका प्रधानाध्यापक तुलाबहादुर सारुले बालबालिकाहरुलाई असल ढंगले शिक्षा दिक्षा दिनसके भोलिका पिढीहरुको भविष्य शुन्दर हुने भएकाले बालमनोविज्ञान बुझेर शिक्षण सिकाई गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा गाउँपालिकाका शिक्षा शाखा प्रमुख गजेन्द्र पन्थी, शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका प्राविधिक सहायक बोमबहादुर थापा, पहिलो पाइला नेपाल पाल्पाका अध्यक्ष लेखबहादुर कुँवर, विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरु, अभिभावकहरु पहिलो पाइला नेपालका केन्द्रीय सदस्य सुरेश रायमाझी, लगाएतका व्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा पूर्व प्राथमिक तहका विद्यार्थीहरुलाई शैक्षिक सामग्री समेत वितरण गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भेषबहादुर थापाको अध्यक्षता, पहिलो पाइला नेपालका सचिव सुवास पोखरेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।