कृष्ण पोखरेल
पाल्पा, पर्यटकीय क्षेत्रको रुपमा प्रख्यात पाल्पामा पर्यटकीय गन्तव्य स्थलहरु थपिदै गएका छन् । कोभिडका कारण पर्यटकीय आवागमनमा कमी आए पनि पर्यटकीय गन्तव्य स्थलहरुको विस्तारले भने तिव्रता पाएको छ । पछिल्लो समय यहाँका पर्यटकीय स्थलहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई थप आकर्षण गर्न सांस्कृतिक डवली समेत निर्माण गरिएको छ । यहाँ दुई छुट्टाछुट्टै स्थानमा सांस्कृतिक डवली निर्माणको काम भएको हो ।
लुम्बिनी प्रदेश सरकारले पाल्पालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने योजनाका साथ तानसेनको कैलाशनगर र तिनाउको नुवाकोटमा खुला सांस्कृतिक डवली निर्माण गरेको छ । प्रदेश सरकार उद्योग वन वातावरण तथा पर्यटन मन्त्रालयले पाल्पामा पर्यटकीय गन्तव्यहरूको विकास गर्ने क्रममा जिल्लाका दुई स्थानमा सांस्कृतिक डबली निर्माण गरेको हो । प्रदेश सरकारले तानसेन नगरपालिका –५ कैलाशनगर र तिनाउ गाउँपालिका –२ नुवाकोटमा सांस्कृतिक डवली निर्माण गरेको छ । यहाँ चिसो मौसममा पर्यटकहरूको बसाइ लम्बाउन डवलीहरू निर्माण गरिएको हो । डिभिजन वन कार्यालय पाल्पामार्फत श्रीनगर सांस्कृतिक डवली ६ करोड ८० लाखमा प्रतिष्ठा कन्ट्रक्सन प्रा.लि. काठमाण्डौले निर्माण गरेको छ भने तिनाउ गाउँपालिकाको नुवाकोटमा निर्माण भईरहेको सांस्कृतिक डवली तीन करोड ८४ लाखमा धुलिखेल निर्माण सेवाले काम गर्दै आएका छन् । सांस्कृती डवली निर्माणले स्थानीय कला संस्कृतिको संरक्षण, पाल्पामा पर्यटकहरुको बसाई लम्बिने र जिल्लाको समग्र पर्यटन विकासमा टेवा पुग्ने तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहीले विश्वास व्यक्त गरे । दुबै स्थानमा निर्माण भईरहेको खुला सांस्कृतीक डवली निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
अबको दुई महिना भित्र सम्पूर्ण निर्माण काम सकिने निर्माण व्यवसायीले जनाएका छन् । अहिले सम्म भौतिक पुर्वाधार निर्माणको ९० प्रतिशत काम सकिएको अन्तिम फिनिसिङ्ग का कामहरु भईरहेको छ । खुल्ला सांस्कृतिक डवलीमा स्टेज, स्टेज अगाडि हरियो दुवो सहितको दर्शक कक्ष, कलाकारहरुको चेन्जिङ्ग रुम, कोलसेट, शौचालय, गार्ड हाउस, टिकट काउन्टर, अफिस कोठा र पार्किङ सहितको सुविधा रहेको सांस्कृतिक डवली निर्माण गरिएको प्रतिष्ठा कन्ट्रक्सन प्रा.लि. काठमाण्डौका कम्पनी प्रतिनिधि दीपक बहादुर पालले बताए । तिनाउ गाउँपालिको नुवाकोट डवलीमा २ सय ५० जना र सदरमुकाम तानसेन कैलाशनगरमा रहेको डवलीमा पाँच सय जना अट्ने क्षमता रहेको छ । पाल्पामा निर्माण भईरहेको खुला सांस्कृतिक डवली नेपालमै नमुना सांस्कृतिक डवलीका रुपमा निर्माण गरिएको हो । पाल्पामा आन्तरिक तथा बाह्य पर्यटक बढ्ने विश्वासका साथ सदरमुकाम तानसेनमा सुविधा सम्पन्न होटलहरु थपिदै गएका छन् । कोभिड १९ को कारण थला परेका होटल रेष्टुराहरु सांस्कृतिक डवलीको निर्माणसंगै पर्यटकको आगमन बढ्ने होटल श्रीनगर प्रा.लि.का म्यानेजर अशोक थापाले बताए । भारतीय नाका सुनौलीबाट ३० किलोमिटर, बुटवलबाट ५ किलोमिटरको दुरीमा रहेको पाल्पा तिनाउ नुवाकोटमा निर्माण भईरहेको सांकृतिक डवलीले यस क्षेत्रकै कला संस्कृतिको जर्गेना गर्ने छ ।
तराई क्षेत्रबाट जाडोमा घाम ताप्न र गर्मीमा चिसो मौसममा रमाउन, विभिन्न सांस्कृतिक कार्यक्रमको समग्र दोभान नुवाकोट क्षेत्रको पर्यटन विकासमा टेवा पुग्ने छ । अंग्रेज युद्धमा नेपालले निर्माण गरेका युद्धका गढीहरू, भैरव मन्दिरसँगै ऐतिहासिक सम्पदाहरू विकास तथा प्रचार प्रसार भई पर्यटन विकासमा थप टेवा पुग्ने तिनाउ गाउँपालिका अध्यक्ष ओम बहादुर घर्तीमगरले बताए ।