पुरन राजकोटी मगर
गुल्मी (पुर्तिघाट), जिल्लाका विभिन्न स्थानीय तहका बस्तीहरुमा चोरको बिगबिगी बढेपछि स्थानीय आतंकित भएका छन् । चोर र चोरीका गतिविधि दिनहुँ बढेपछि स्थानीय आंतकित भएका हुन् । स्थानीय प्रहरी चौकीहरु भए पनि जिल्लाका कालीगण्डकी र सत्यवती गाउँपालिकाका टोलवस्तीहरुमा दिनहुँजसो चोरीका घटनाहरु भने रोकिएका छैन ।
यि दुई स्थानीय तहका बस्तीहरुमा दिनमै दर्जन बढी घर, विद्यालय मठमन्दिरहरुमा चोरी तथा तोडफोड भएका छन् । गत भदौ ४ मा कालीगण्डकी गाउँपालिकाको पुर्तिघाट बजारको एक मोवाइल पसलमा चोरी भयो । त्यसपछि लगातार रुपमा पूर्तिघाट बजारसहित छिमेकी टोलवस्तीहरुमा चोरीका घटना भइरहेका छन् । स्थानीयले चोरी भएकोबारे नजिकैको प्रहरी चौकी हुँदै जिल्ला प्रहरी कार्यालयसम्म खबर गरे । तर, प्रहरीले चोर पत्ता लगाएर कारबाही गर्न नसक्दै त्यसयताका हरेक दिन जिल्लाका दुईवटा पालिकामा दैनिक चोरीका घटना भइरहेको छ । यतिसम्म कि चोरको समूहले कतिपय विद्यालय, वडा कार्यालयलगायतका सरकारी तथा सार्वजनिक संरचनामा समेत पसेर त्यहाँका महत्वपूर्ण दस्तावेजमा समेत क्षति पुर्याएको छ । गत आइतबार मात्र चोरले कालीगण्डकी गाउँपालिका –१ हर्मिचौरमा वडा कार्यालय सहित ७ घरमा रातको समयमा चोरी गर्नुको साथै तोडफोड गरेको थियो । चोरले ७ घरबाट एक लाख बराबर नगद र केही मोबाइल अन्य र भौतिक सामन समेत चोरी गरेको छ । त्यस्तै जिल्लाकै सत्यवती गाउँपालिका –३ ठूलोलुम्पेक र अस्लेवामा गत सोमबार राती चोरी भयो ।
लुम्पेकको वडा कार्यालय, धर्मपुर मावि, लुम्पेक कभडहल, ११ वटा पसल गरी १४ घरहरू र कार्यालयमा चोरी हुनुका साथै तोडफोड भएको वडा अध्यक्ष रुक बहादुर रानाले बताए । चोरले पसलमा राखिएको नगद र जिन्सी गरी २ लाख बढी चोरी गरेको वडा अध्यक्ष रानाले जानकारी दिए । जिल्लामा दिनहुँ चोरीका घटानाहहरु बढ्दै जाँदा समेत प्रहरी प्रशासन मौन रहेको स्थानीयको आरोप छ । चोरी भएको बारे स्थानीयले प्रहरी चौकी हुँदै जिल्लासम्म खबर गरे । अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन् । ‘चोरी भएको खबर पुलिसलाई दिएको चार दिन बित्यो,’ पुर्तिघाटका स्थानीय रविन्द्रनाथ पाण्डेले भने, ‘चोर पक्रेको खबर आउनुको सट्टा अरू गाउँमा पनि चोरेका खबर आइरहेका छन् । हामी रातभर सुत्न सकेका छैनौं, रातभर कहिले कता कहिले कता चोरी भयो भन्ने खबर आइरहेको छ ।’
निरन्तर घटना हुँदा समेत प्रहरीले घटनामा संलग्नलाई नियन्त्रणमा लिन सकेको छैन । प्रहरी चौकी पुर्तिघाटले भने चोरीमा संलग्नहरुको खोजी कार्य जारी राखेको प्रहरी सहायक निरीक्षक विष्णु गाहाले बताए ।