इमान सिं राना
पाल्पा(रामपुर), जिल्लाको रामपुरमा उद्योगी तथा व्यवसायीहरुका लागि तीन दिने मुल्य अभिवृद्धि तथा व्यवसाय कर सम्बन्धी तालिम सुरु भएको छ । रामपुर क्षेत्रका उद्योगी व्यवसायीहरुलाई कर शिक्षासँगै भुक्तानी गर्ने प्रक्रिया र लेखा व्यवस्थापनका विषयमा जानकारी दिनका लागि तालिम सञ्चालन गरिएको हो । रामपुर उद्योग वाणिज्य संघको आयोजना, रामपुर नगरपालिकाको आर्थिक सहयोग र करदाता सेवा कार्यालय पाल्पा, एनविएसएम एण्ड एसोसियट्स नक्साल काठमाडौको प्राविधिक सहयोगमा तालिम सुरु भएको छ ।
रामपुरमा भएको तालिमको शुभारम्भ गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले राज्य सञ्चालनको मुख्य आधार कर भएकाले गर्वका साथ व्यवसाय सञ्चालन गर्न आग्रह गरे । उनले हाम्रो विकास हामीले तिरेको करमा निर्भर हुने भएकाले विकासका लागि कर अनिवार्य रहेको बताए । प्रमुख थापाले कर छल्दै गर्दा कही न कही गएर अप्ठ्यारो पर्ने भएकाले व्यवसाय अनुसार कर तिर्दै गएमा समस्या नहुने धारणा व्यक्त गरे । सरकारले आयकरमा बढी कर थोपरेका कारणले व्यवसायीहरु त्रसित भएको भन्दै डराएर कर नतिर्ने हो भने ,थप जटिलता उत्पन्न हुने बताए । उनले नगरपालिकाले मापडण्द अनुसार नै कर संकलन गरेको बताए ।
रामपुर नरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्यालले नगरपालिकाले कर प्रति नागरिकलाई जिम्मेवार बनाउन कार्यक्रम सञ्चालन गर्दै आएको बताए । उनले नगर भित्रका व्यवसायीहरुको अवस्था बुझ्नका लागि लगत संकलनको काम भैरहेको बताउँदै त्यस कार्यमा सहयोग गर्न आग्रह गरे । उनले अन्य मुलुकको तुलनामा दक्षिण एसियामा करलाई हेर्ने दृष्टिकोण फरक रहेका बताए । उनले करलाई गौरवको रुपमा लिएर व्यवसाय सञ्चालन गर्नु आवश्यक रहेको बताए ।
रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले पछिल्लो समय व्यवसायीहरु कर प्रति सकारात्मक बन्दै गएको बताउँदै विगतमा न्यून उपस्थिति रहेकोमा अहिले ६२ जना भन्दा बढी सहभागी रहेको बताए । तालिममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्याल, करदाता सेवा कार्यालय पाल्पाका कर अधिकृत सागर पोखरेल, चार्टर एकाउण्टेन कृष्ण प्रसाद शर्मा र रामपुर नगरपालिकाका लेखा अधिकृत रेणुराम ज्ञावलीले सहजिकरण गरिरहेका छन् । रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष ढकालको अध्यक्ष,वाणिज्य उपाध्यक्ष दुर्गा प्रसाद भट्टराईको स्वागत, उद्योग उपाध्यक्ष रुद्रनारायण श्रेष्ठको धन्यवाद र महासचिव खिम बहादुर क्षेत्रीको सञ्चालनमा कार्यक्रम भएको थियो । तालिम शनिबार सम्म चल्ने छ ।