Shittalpati
रामपुर नगर सरकारद्वारा घुम्ती शिविरबाटै सेवा प्रवाह

इमान सिं राना
पाल्पा(रामपुर),जिल्लाको रामपुर नगर सरकारले सेवाप्रवाहलाई छिटो छरितो बनाउनका लागि घुम्ती शिविर मार्फत सेवा प्रवाह गर्न थालेको छ । नगरपालिकाले दुरीको हिसाबले टाढा रहेका वडाका नागरिकहरुलाई घुम्ती शिविर मार्फत सेवा प्रवाह गर्न लागेको हो । पहिलो चरणमा नगरपालिकाले वडा १ र २ का माथिल्लो भागका जनताको सहजताका लागि शिविरमार्फत नगरपालिका कार्यालयका सबै विषयगत शाखामार्फत दिने सेवा, स्वास्थ्य परीक्षण, व्यवसाय दर्ता तथा परामर्श सेवा प्रदान गरेको छ । शिविर बाट ७ सय १५ जना भन्दा बढीले सेवा लिएका छन् ।

जनताको पहुँचसम्म सेवा पुर्याउनु पर्छ भन्ने मान्यताका साथ रामपुर १ को वडा कार्यालय परिसरमा सेवागत घुम्ती शिविरको उद्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले जनताको सहजताका लागि शिविर सञ्चालन गरिएको बताए । नागरिकको पहुँचसम्म सेवा पुर्याउन नगरपालिका लागि परेको भन्दै आगामी वर्ष पनि कार्यालय भन्दा पर रहेका जनताको सहजताको लागि आवश्यकता अनुसार कार्यक्रम सञ्चालन गर्नेमा उनले जोड दिए । नगर प्रमुख थापाले आगामी वर्ष थप सेवा सहित शिविर सञ्चालन गरिने बताए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष कमलराज भट्टराईले गाउँ–गाउँमा रहेका नागरिकहरुका लागि यस्ता शिविर अति प्रभावकारी हुने धारणा व्यक्त गरे । १ का वडा अध्यक्ष मित्रलाल कंडेलले वडाकार्यालयले गत वर्ष आफ्नै प्रयासमा वडाबासीको सहजताका लागि टोल–टोलमा पुगेर सेवा प्रदान गरिएको स्मरण गर्दै नगरपालिका कार्यालबाट टाढा रहेको वडा नं. १ मा घुम्ती शिविर सञ्चालन हुनु सुखद् रहेको बताए । कार्यक्रममा रामपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विकास शर्मा, रामपुर उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष दुर्गा प्रसाद भट्टराई र नेपाल पत्रकार महासंघका जिल्ला सदस्य दुर्गेश मल्ल लगायतले नगरले वर्ष दिनमा एक पटक मात्र नभई समय–समयमा आवश्यकता अनुसार शिविर सञ्चालन गर्नु आवश्यक रहेको बताएका थिए ।

रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्यालले सेवामा नागरिकको पहुँच विस्तार गर्न नगरपालिका कार्यालयबाट प्रदान गरिने चेक जारी सेवा बाहेक सम्पूर्ण सेवा प्रदान गरिएको बताए । उनले रामपुर अस्पताल र कालीगण्डकी आँखा तथा कान उपचार केन्द्रसँगको सहकार्यमा स्वास्थ्य परीक्षण तथा आँखा परीक्षण शिविर, रामपुर उद्योग वाणिज्य संघ सँगको सहकार्यमा व्यवसाय दर्ता तथा परामर्श सेवा प्रदान गरिएको बताए । प्रमुख प्रशासकिय अधिकृत अर्यालको अध्यक्षता,नगरपालिका कृषि शाखाका प्रमुख रामहरी पाण्डेयको स्वागत,रामपुर नगरपालिकाका योजना अधिकृत कपिल बहादुर खाँणको सञ्चालनमा कार्यक्रम भएको थियो ।


शिविरको ९१ वर्षिया गंगा कुमारी वंशी र ६७ वर्षिय तिलकराम थापालाई स्वास्थ्य परीक्षणका लागि नाम दर्ता, प्रमाण पत्र प्रदान गरी सुरुवात गरिएको थियो । घुम्ती शिविरमा सामाजिक विकास शाखा बाट २५ जनालाई जेष्ठ नागरिक परिचय पत्र, ६ जनालाई अपाङ्गता परिचय पत्र प्रदान गरिएको थियो । योजना शाखा तर्फ ६ वटा योजनाको स्टिमेट गरिनुका साथै १२ वटा योजनाको अवलोकन समेत भएको छ । कृषि तथा पशु शाखा तर्फ १ सय ५० कृषकले सेवा लिएका छन् । आयुर्वेद शाखातर्फ १ सय १० जनाले, पञ्जिकरण तर्फ २७ जनाले सिफारिस र व्यवसाय दर्ता तर्फ १ जनाले सेवा लिएका छन् । त्यस्तै स्वास्थ्य शाखातर्फ २ सय ७१ जना बढीले स्वास्थ्य परीक्षण सेवा लिएका छन् । साथै २ सय जनाको आँखाको परीक्षण गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update