पाल्पा, पाल्पामा कोरोना संक्रमण घट्दै गएपछि निषेधाज्ञा पनि हटेको छ । कोरोनाको जोखिम कम भए पनि जिल्लामा खेलकुदका गतिविधि भने सञ्चालन हुन सकेका छैनन् । संक्रमणको उच्च जोखिम भएका बेला थला परेको खेलकुद गतिविधि अहिले पनि सुरु नहुँदा खेल क्षेत्र प्रभावित बनेको छ ।
अभ्यास र प्रतियोगिता नहुँदा नयाँ खेलाडी उत्पादनमा समस्या भएको छ । विगत ६ महिनायता खेलकुदका कुनै प्रतियोगिता हुन सकेका छैनन् । प्रतियोगिता सञ्चालन हुन नसक्दा खेलमैदान सुनसान बनेका छन् । ‘प्रतियोगिता हुँदा नयाँ खेलाडीले अवसर पाउँछन्, अहिले खेलाडी यसबाट वञ्चित छन्’, जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष करुणा काफ्लेले भने । प्रतियोगिता नियमित रुपमा सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।
‘खेलाडीलाई अनिवार्य कोरोनाविरुद्धको खोपको व्यवस्था गर्नुपर्छ’ काफ्लेले भने । सदरमुकाम तानसेनस्थित खेल मैदान सुनसान छ । यहाँ ६ महिनादेखि प्रतियोगिता हुन सकेका छैनन् । तानसेन नगरपालिका सदस्य एवं सामाजिक विकास समितिका संयोजक दीपक विश्वकर्मा विद्यालय बन्दका कारण खेल क्षेत्र प्रभावित भएको बताउन्छन् ।
स्थानीय तहले हालसम्म राष्ट्रपति रनिङ शिल्ड आयोजना गर्न सकेका छैनन् । खेल क्षेत्रलाई यसपटक वर्षाले समेत प्रभावित बनाएको छ । प्रतियोगिता नहुँदा घाँसे मैदान बनेका छन् । ‘वर्षाले खेलमैदानमा खाल्डाखुल्डी बनाएको छ’, रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले भने ।
जोखिम कम भएकाले प्रतियोगिता सञ्चालन गरिने उनको भनाइ छ । खेल प्रतियोगिताका लागि बजेट विनियोजन गरिएको कार्कीले बताए । –रासस