Shittalpati
महायज्ञमा डेढ करोड दान संकलन

पाल्पा (रामपुर) । रामपुर नगरपालिका ६ तातोपानी धाममा सञ्चालित श्रीमद्भागवत महापुराण नवाह ज्ञान महायज्ञ सकिएको छ । गत फागुन १२ गतेदेखि सञ्चालन भएको महायज्ञ मंगलबार सकिएको हो । गाई संरक्षणका लागि निर्माण भएको गौशालाको दिगो सञ्चालन तथा प्रस्तावित धर्मशाला निर्माण सहयोगार्थ सञ्चालन भएको यज्ञबाट झण्डै डेढ करोड दान संकलन भएको छ । नौँ दिनसम्म सञ्चालन भएको यज्ञमा नगद तथा भूमी दान गरी १ करोड ४७ लाख ४७ हजार ८ सय २९ रुपैयाँ बराबर दान संकलन भएको मूल आयोजक समितिले जनाएको छ ।
यज्ञको अन्तिम दिन ३१ मात्रै लाख ९१ हजार ८ सय २७ रुपैयाँ दान संकलन भएको थियो ।

सुरुवाती समयमा प्रतिकुल मौसमका बीच पनि भक्तजनहरु गौमाताको संरक्षणका लागि दान गर्न तातोपानी धाम सम्म पुगेका थिए । यज्ञको विधिवत रुपमा कार्यक्रम गरी समापन गरिएको छ । समापन कार्यक्रममा प्रदेश पाँचका प्रदेश सभा सदस्य युवराज खनालले धार्मिक कार्यक्रमले अनुशासन र सभ्यताको पाठ सिकाउने बताए । उनले प्राप्त दानको सदुपयोग गरी लक्ष्य तथा योजना अनुसार अघि बढ्न आग्रह गरे ।
नगरपालिकाले अघि बढाएको गाई व्यवस्थापन कार्यको प्रशंसा गर्दै प्रदेशमा पनि आवश्यक पहल गर्ने बताए । साथै खनालले गाई मानव स्वास्थ्य तथा धार्मिक हिसाबले अति महत्वपूर्ण भएकाले यसको संरक्षणमा सबै मिलेर हातेमालो गर्नुपर्ने बताए । रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले कालीगण्डकी र गौमाताको संरक्षणका लागि अभियानका रुपमा कार्यक्रम गरेको बताउँदै यी दुई माताको छुट्टै महत्व रहेको बताए  ।
उनले हाम्रा विचार सिद्धान्तहरु फरक–फरक भए पनि धार्मिक कार्यले थप सम्बन्ध सुमधुर बनाउन सहयोग गर्ने बताए । कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्याल, धार्मिक अध्येता बाल व्यास, युवा पण्डित नारायणप्रसाद न्यौपाने, नेपाली कांग्रेस रामपुरका नगर सभापति नेत्रप्रसाद भट्टराई, नेपाल कम्युनिष्ट पार्टी नेकपा रामपुरका अध्यक्ष कमलराज भट्टराई, दानदाता बासुदेव देवकोटा र तनहुँका समाजसेवी विष्णु भक्त सिग्देल लगाएतले जगतको सृष्टि कर्ता गौमाताको संरक्षणका लागि भएको उत्सवको महिमा ठूलो रहेको बताएका थिए । साथै ओझेलमा रहेको तातोपानीको धाम थप पूण्यभूमीको रुपमा परिचित भएको उनीहरुले बताए ।

श्रीमद्भागवत् महापुराण नवाह ज्ञान महायज्ञ मूल आयोजक समितिका अध्यक्ष हुमनाथ न्यौपानेले यज्ञ सफल बनाउनका लागि निरन्तर खट्ने व्यक्तित्वहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । मूल आयोजक समितिका अध्यक्ष न्यौपानेको अध्यक्षता, मूल आयोजक समितिका उपाध्यक्ष थानेश्वर अधिकारीको स्वागत, सचिव बासुदेव ढकालको सञ्चालनमा कार्यक्रम भएको थियो । कार्यक्रममा यज्ञ सफल बनाउन सहयोग गर्ने व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिएको थियो । यज्ञमा धार्मिक अध्येता युवा पण्डित नारायणप्रसाद न्यौपानेको मुखार विन्दुबाट प्रवचन भएको हो ।

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update