
तानसेन, तानसेन ५ कैलाशनगरकी ९२ बर्षकी देवीसरा रानाले आफ्नो जन्मदिन नौलो किसिमबाट मनाएकी छन् । उनले वर्थडे केककाटेर, वेलुन सिंगारेर भन्दा पनि सामाजिक सेवाको माध्यमले जन्म दिन मनाएकी हुन । केक काट्ने फेसनलाई चुनौति दिदै, देवीसराले रिडीको ऋषिकेशव मन्दिरका वटुक र वृद्धवृद्धालाई खाना र नाना दानगरेर आफ्नो ९२ औं बर्थडे मनाएको देख्दा नौलो र सामाजिक भावयुक्त शैलीमा स्थानीयहरु पनि रमाईरहेका थिए ।
अन्नदान र लत्ताकपडा दानगर्ने मात्र काम भएन, त्यहाँ औपचारिक कार्यक्रम पनि आयोजना गरियो । कार्यक्रमको अध्यक्षता गरेकी ऋषिकेशव मन्दिर व्यवस्थापन समितिकी उपाध्यक्ष तुलसीकुमारी श्रुष्ठले, जन्म दिन मनाउँने यो नौलो परम्पराले सबैलाई सामाजिक सेवामा लाग्न प्रेरणा प्रदान गर्ने वातावरण श्रृजना भएको अनुभव सुनाईन । उनले भनिन, अन्न र लत्ता कपडा दान दिने र लिने भन्दा पनि जन्म दिनमा सामाजिक उत्तरदायित्व निर्वाहगर्ने सन्देशले ठुलो महत्व राख्दछ । ९२ बर्षकी देवीसरा रानाले केक काटेर र फजुल खर्च गर्नुभन्दा धार्मिक क्षेत्रमा बस्दै आएकाहरुको सेवा गर्दा आफुलाई छुट्टै आनन्द आएको बताईन । उनले भनिन्, सेवा नै धर्म हो, भन्ने भावनाको बिकास र मनमा शान्ति भएको महशुस भयो, । छोराहरु रोमनवहादुर, मानबहादुर, वलबहादुर, खिमबहादुर र रेखीराम रानाकी आमाले यो बर्षको जन्म दिन छुट्टै तरिकाले मनाउँने इच्छा प्रकट गरे पछि परिवारका सबै सदस्यहरु आमालाई लिएर रिडीको ऋषिकेशव मन्दिर गएको साईला छोरा वलबहादुर रानाले बताए ।