
गुल्मी, जिल्लाको रेसुङ्गा बन संरक्षणमा चासो देखाइएको छ । बन विनास हुँदै जान थालेपछि त्यसको संरक्षणमा जिल्लाका सरोकारवालाहरुले चासो देखाएका हुन । बन विनासका कारण यहाँ पाइने बहुमूल्य जडिबुटीसँगै लोप उन्मुख अवस्थामा रहेका बन्यजन्तुहरु समेत हराउदै जान थालेपछि त्यसको संरक्षण र प्रवद्र्धनमा चासो देखाइएको हो । बन संरक्षण गर्ने विषयमा तम्घासमा व्यापक छलफल तथा अन्तक्र्रिया कार्यक्रम भएको छ ।
बन तथा भू–संरक्षण विभाग काठमाडौको आयोजना र डिभिजन बन कार्यालय गुल्मीको समन्वयमा शुक्रबार बन संरक्षणका विषयमा छलफल तथा अन्तक्र्रिया भएको हो । कार्यक्रममा बन आर्थिक समृद्धिको आधार भएकाले त्यसको संरक्षण गर्नुपर्नेमा जिल्लाका सरोकारवालाहरुले चासो व्यक्त गरेका छन् । मानिसको लापरवाहीका कारण यहाँका बन्यजन्तु र रुख विरुवाहरु मासिदै जान थालेको प्रति कार्यक्रमका सहभागीहरुले चिन्ता व्यक्त गर्दै त्यसको सरंक्षणमा सबै लाग्नुपर्ने बताएका छन् । उनीहरुले राष्ट्रको सम्पति बन रहेको बताए । रेसुङ्गा नगरपालिकासहित मुसिकोट नगरपालिका, इस्मा गाउँपालिका र गुल्मीदरबार गाउँपालिका समेतका वडाहरु समेटिएको रेसुङ्गा बन क्षेत्र राष्ट्रको सम्पत्ति भएको भन्दै रेसुङ्गा नगरपालिका प्रमुख डिल्लीराज भुसालले यसको संरक्षण गर्नु सबैको दायित्व भएको बताएका छन् ।
रेसुङ्गा क्षेत्रमा लोपन्मुख जनावर, चराचुरुङ्गी र बोटबिरुवा पाइनुका साथै धार्मिक रुपमा पनि प्रसिद्ध भएकाले जुनसुकै अवस्थामा पनि रेसुङ्गा क्षेत्रको संरक्षण गर्न आफू लागि परेको समेत उनले बताए । डिभिजन बन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाले बन संरक्षणमा उपभोक्ता स्वयम सचेत बन्नुपर्नेमा जोड दिए । उनले बन कार्यालयमार्फत निरन्तर रेसुङ्गा र मदाने लगायतका संरक्षित बनमा बजेट बिनियोजन गरेर कार्यक्रम अगाडि बढाइएको जानकारी दिए । कार्यक्रममा रेसुङ्गा नगरपालिका उपप्रमुख सिता भण्डारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख गोपाचन्द्र भट्टराई, नेपाली सेनाका संग्राम शार्दुल गुल्म गुल्मीका गुल्मपति सेनानी राजन भुजू , सशस्त्र प्रहरी बल गुल्मीका प्रमुख प्रहरी नायब उपरीक्षक अशोक लम्साल, डिभिजन बन कार्यालयका प्रमुख प्रभात सापकोटा, कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारी, घरेलु तथा साना उद्योग विकास कार्यालय गुल्मीका प्रमुख लक्ष्मण घिमिरे, रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेश चन्द्र भुसाल, जिल्ला समन्वय समिति गुल्मीका सदस्य राममल्ल ठकुरी, रेसुङ्गा संरक्षण क्षेत्र समेटिएका स्थानीय तहका वडाहरुका वडाध्यक्षहरु बिच छलफल भएको थियो । वि.सं. २०७८/०७९ देखि २०८२/०८३ सम्म बन क्षेत्र संरक्षण गर्न तयार गरिएको मस्यौदा प्रतिवेदनको सम्बन्धमा बन प्राविधिक तथा परामर्शदाता हरि मण्डलले जानकारी गराएका थिए । डिभिजन बन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटा अध्यक्षता, सहायक बन अधिकृत मञ्जु शर्माको स्वागत,सहायक बन अधिकृत पंकज ठाकुरको सञ्चालनमा कार्यक्रम भएको थियो । –अनिल खत्री